काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ बस्ने उदयपुर उदयपुरगढी गाउँपालिका-३ घर भएका २६ वर्षीय विश्व ठकुरी भन्ने विश्व विक्रम सेन, काठमाडौं टोखा नगरपालिका-९ बस्ने उदयपुर त्रियुगा नगरपालिका-१२ घर भएका ४४ वर्षीय अर्जुन कुमार निरौला, काठमाडौं महानगरपालिका-१० बस्ने ४८ वर्षीय गोपाल भन्ने प्रेम श्रेष्ठ, काठमाडौं महानगरपालिका-७ बस्ने पाँचथर फिदिम नगरपालिका-१२ घर भएका ३८ वर्षीय पूर्ण बहादुर तुम्ब्रोक र ललितपुर, ललितपुर महानगरपालिका-२३ बस्ने काभ्रे पनौती नगरपालिका-१२ घर भएका ४० वर्षीय राज कुमार खड्का रहेका छन् ।
पक्राउ मध्ये विश्व, अर्जुन र प्रेमले एन्डोरा पठाइदिन्छु भन्दै ९ जना पीडितहरूबाट ५९ लाख ५० हजार रूपैयाँ, पूर्ण बहादुरले अष्ट्रिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ४ लाख रूपैयाँ र राज कुमारले स्पेन पठाइदिन्छ भन्दै १ जना पीडितबाट ८ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले विश्व, अर्जुन, प्रेम र पूर्ण बहादुरलाई काठमाडौं महानगरपालिका-९ बाट तथा राज कुमारलाई काठमाडौं महानगरपालिका-७ बाट पक्राउ गरेको हो ।
पक्राउ मध्ये विश्व, अर्जुन र प्रेमलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं तथा पूर्ण र राज कुमारलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।