२०८१, ३ माघ बिहीबार
×

ट्रेन्डिङ

साउदीका महिलाले आइतबारबाट सवारी चलाउन पाउने

1555 Shares

रियाद। साउदीका महिलाले आफैँ सवारी साधन हाँक्न पाउने भएका छन्। उनीहरुलाई आइतबारबाट सवारी चलाउन पाउने अनुमति दिइएको रियादबाट प्राप्त समाचारमा जनाइएको छ।

लामो प्रतीक्षापछि साउदी अरेबियाका राजा सलमानले पहिलो पटक महिलालाई गाडी चलाउन दिने एउटा आदेश जारी गरेका हुन्।

महिलाले पनि सवारी साधन आफै हाँक्न पाउने नियम सन् २०१८ को जुन महिनादेखि लागू हुनेगरी राजाको आदेश आएको त्यहाँको सरकारी समाचार संस्थाले यसअघि नै जनाएको थियो।

साउदी प्रेस एजेन्सीका अनुसार मन्त्रालयहरुले त्यससम्बन्धी कार्यको प्रतिवेदन तयार पारेर राजालाई दिएका र अब यही आइतबारबाट नै उनीहरुले यस्तो अधिकार पाएका जनाएको छ।

महिलालाई पनि गाडी चलाउने अनुमति दिनुपर्ने माग गर्दै महिला तथा अधिकारवादी संस्थाहरुले लामो समयदेखि अभियान चलाउँदै आएका थिए।

विश्वमा साउदी अरेबिया मात्र एक मुलुक हो जहाँ महिलाले गाडी चलाउने अनुमति पाएका थिएनन्। अब उनीहरुले यो अधिकार प्राप्त गरेका साउदी सरकारले जनाएको छ।

साउदीको विद्यमान कानून अनुसार त्यहाँ पुरुषले मात्र सवारी चालक अनुमतिपत्र पाउने गरेका थिए। सो कानूनमा संशोधन गरी राजाले नै आदेश दिएपछि महिलाले यो अधिकार प्राप्त गरेका हुन्।

यसअघि पनि लुकिछिपी महिलाले गाडी चलाउने गरेको भए पनि सरकारी नीतिको अवज्ञा गरेको आरोपमा महिलाहरुमाथि कडा जरिवाना गरिन्थ्यो। कतिपयले जेल सजायँ नै भोग्नुपरेको पनि बताइएको थियो।

केही महिनाअघि सरकारले यो नीति बनाएर जुनदेखि सवारी आफै हाँक्न दिने बताएको थियो। त्यो नीतिको घोषणा भएपछि यहाँ महिलाका लागि सवारी चालकसम्बन्धी तालिम र सवारी चालक अनुमति पत्र दिने प्रक्रियाको सुुरुवात भएको थियो।

कैयौँ महिलाले सवारी चालनसम्बन्धी तालिम लिएका र सवारी चालक अनुमतिपत्र लिएका समाचारमा जनाइएको छ। अधिकारीहरुले आइतबार महिलाले सवारी चलाउने कार्यको सुरुआत एक विशेष कार्यक्रममार्फत गरिने जनाएका छन्।

संयुक्त राज्य अमेरिकालगायत विश्वका देशहरुले महिलालाई पनि गाडी चलाउन दिने साउदी राजाको आदेशको स्वागत गरेका छन्। उनीहरुले साउदी सरकारको यस कदमलाई मानवअधिकारको पक्षमा एउटा महत्ववपूर्ण कदम भनेका छन्।

प्रतिक्रिया