२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

प्रधानमन्त्रीलाई सांसदको कटाक्ष : ‘एनजीओले प्रधानमन्त्रीलाई एक करोडमा किने’

909 Shares
Spread the love

पुष ३ -धानमन्त्री केपी शर्मा ओलीलाई युनिभर्सल पिस फाउन्डेसन (युपिएफ) ले दिएको एक लाख अमेरिकी डलरको पुरस्कारका विषयमा मंगलबार संसदीय समितिमा चर्चा–परिचर्चा भयो । यसक्रममा केही सांसदले प्रधानमन्त्री केपी ओली ‘बिकेको’ आरोपसमेत लगाए ।प्रधानमन्त्रीले पाएको पुरस्कारबारे प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको मंगलबार बसेको बैठकमा चर्चा भएको हो । बैठकमा घुमाउरो भाषामा सांसदहरुले पुरस्कारको आलोचना गरे ।


लेखापरीक्षण सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक, ०७५ माथिको छलफलका क्रममा नेपाल किसान मजदुर पार्टीका सांसद प्रेम सुवालले पुरस्कारको प्रशंग निकाले ।गत असार १४ गते संसदमा दर्ता भएको विधेयकमा नेपाली कांग्रेसका सांसद भरत शाह र नेमकिपाका सांसद सुवालले संशोधन प्रस्ताव दर्ता गराएका थिए । बैठकमा सभापतिले संशोधन गर्नुपर्ने कारणसहित आफ्ना भनाइ राख्न समय दिए ।

सुवालको माग थियो– आइएनजीओमा आवद्ध भएकालाई विशेषज्ञका रुपमा काम लगाउन नपाउने । विधयेकको दफा १५ मा महालेखाले विशेषज्ञका रुपमा सेवा लिन पाउने व्यवस्था गरेको छ ।उक्त दफामा संशोधन हुनुपर्ने भन्दै सुवालले कुनै पनि एनजिओ र आइएनजीओमा आवद्धलाई विशेषज्ञ बनाउन नहुने विषय थप गर्नुपर्ने बताए । उनले भने– ‘एनजीओले सबैलाई किन्न सक्छन्, हाम्रो देशका प्रधानमन्त्रीलाई त एक करोडमा किने । प्रधानमन्त्रीलाई नै किन्न सक्नेले अरुलाई किन्न के ठूला कुरा भयो र ?’

सुवालले यसो भनिरहँदा बैठक हल हाँसोले गुञ्जियो । सुवालको भनाइलाई पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि समर्थन गरे । प्रधानमन्त्री ओलीतर्फ व्यंग्य गर्दै उनले भने, ‘त्यो त ‘पवित्र’ पैसा हो रे नि !’सांसद सुवालले यसबाहेक प्रस्तावनामा पनि संशोधन हुनुपर्ने बताए । आर्थिक वर्ष ०७५ सम्मको ५ खर्ब ८ करोड रुपैयाँ बेरुजु फरफारक गर्न, अब उप्रान्त बेरुजु नहुने अवस्था सिर्जना गर्न, कमिशन र भ्रष्टारचार अन्त्य गर्न लगायतका विषयहरु प्रस्तावनामा नै उल्लेख हुनुपर्ने उनले बताए ।

कुनै कार्यालयमा तोकिए बमोजिमको भन्दा बढी शुल्क लिए निर्देशन दिने कर्मचारीलाई समेत थुनामा राखि कारबाही गरिने व्यवस्था गर्न समेत उनले माग गरे । सांसद सुवालले विधयेकको १७ वटा बुँदाहरुमा संशोधन हुनुपर्ने माग गर्दै संशोधन प्रस्ताव गराएका छन् ।

प्रतिक्रिया