
अजय लिम्बू, ताप्लेजुङ, वैशाख २० गते । राष्ट्रिय युवा संघ ताप्लेजुङको जिल्ला अधिवेशनमा प्रमुख अतिथि भएर गएका राष्ट्रिय युवा संघका अध्यक्षमाथि नै आक्रमणको प्रयास भए उनी भागेका छन्।
दशौँ जिल्ला अधिवेशनको बन्द शत्रमा विवाद उत्कर्षमा पुगेपछि एमालेका जिल्लास्थित केही नेता र संघका अध्यक्ष नै लखेटिएका हुन्। विवाद लगत्तै पत्रकार सम्मेलन गरेर असन्तुष्ट पक्षले लोकतान्त्रिक विधिबाटै नेतृत्व चयन गर्न माग गरेको थियो । उक्त समूहले जबरजस्ती गरे गलत परिणाम आउने चेतावनी दिएको थियो।
एमाले नेता मणिशंकर पोमुले पनि प्रतिवेदन प्रस्तुत गरेर कुनै औपचारिक कार्यक्रम नगरी अध्यक्षमण्डलले नयाँ नेतृत्व घोषणा गरेको बताउँदै यसै कारण विवाद भएको बताए। केन्द्रीय सचिव तथा कोशी इञ्चार्ज निरोज पौडेलको संयोजकत्वमा अध्यक्ष मण्डल बनाइएको थियो । तर अधिवेशनमा सहमति नगरी नाम घोषणा गर्न थालेपछि कुटाकुट भएको हो।
एमालेका वडासचिव नवीन रेग्मीसहित टंक लिम्बू, अनिल विक, जयप्रकाश राईसँगै नेता मणिशंकर पोमु, पाथीभरा याङवरक गाउँपालिका वडा १ का वडाध्यक्ष दिलकुमार सुनुवारसहितको टोली अर्को पक्षमाथि आक्रमणमा उत्रिएको थियो।
एमालेका कार्यवाहक जिल्ला अध्यक्ष दीपेन पोमु, जिल्ला सचिव सन्तोस चाम्लिङसहितका दर्जनौ नेता तथा कार्यकर्ता आक्रमणमा गरेको स्रोतले बतायो। एमाले सचिव योगेश भट्टराईको गृहजिल्ला ताप्लेजुङमै एमाले दुई चिरा छ। जिल्ला अध्यक्ष डम्बरध्वज तुम्बाहाङ्फे र नेता बलबहादुर साम्सोहाङको समूह समानान्तर गतिविधि गर्दै आएको छ।