२०८३, २५ कार्तिक मंगलवार
×

राजदूत नेपालद्वारा स्पेनका राजासमक्ष ओहदाको प्रमाणपत्र पेश

स्पेनी राजाको पुनः नेपाल भ्रमण गर्ने चाहना
0 Shares

भरत प्रधान,लिस्बन। स्पेनका लागि नवनियुक्त नेपाली राजदूत शनिल नेपालले स्पेनका राजा फिलिप छैठौं समक्ष ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ ।

 

मंगलबार म्याड्रिडस्थित राजदरबारमा आयोजित एक विशेष समारोहका बीच राजदूत नेपालले राजा छैठौं समक्ष ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको हो । ओहोदाको प्रमाणपत्र बुझाएपछि राजदूत नेपालले राजासँग केहीबेर छुट्टै शिष्टाचार भेटवार्तासमेत गर्नुभएको थियो । भेटवार्तामा दुई मुलुकबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र सहयोग अभिवृद्धिका बारेमा छलफल भएको स्पेनस्थित नेपाली दूतावासले जनाएको छ ।

 

सो अवसरमा राजदूत नेपालले नेपालको परराष्ट्र नीतिको प्राथमिकता, विकासका योजना र कार्यक्रम तथा जलवायु परिवर्तनलाई सम्बोधन गर्ने प्रयासका बारेमा राजालाई अवगत गराउनुका साथै जलवायु परिवर्तनका कारण देखा परेका समस्या र वातावरणीय चुनौतिहरूको सामना गर्न अन्तर्राष्ट्रिय सहयोगको आवश्यक रहेको उल्लेख गर्नुभएको थियोे । त्यसैगरी नेपालका राष्ट्रपति रामचन्द्र पौडेलको सन्देश सुनाउँदै राजदूत नेपालले राजा फिलिपलाई नेपाल भ्रमणका लागि अनुरोध गर्नुभएको थियो । जवाफमा राजा फिलिप छैठौंले आफूले धेरै अगाडि नेपाल भ्रमण गरेको स्मरण गर्दै पुनः नेपाल भ्रमण गर्ने इच्छा व्यक्त गर्नुभएको राजदूत नेपालले जानकारी दिनुभयो ।

 

राजाले नेपालप्रति विशेष सद्भावका साथ चासो व्यक्त गर्नुभएको र नेपालको विषयमा खुलेर कुरा गर्नुभएको उहाँले बताउनुभयो । सो अवसरमा राजदूत नेपाललाई बधाई ज्ञापन गर्दै राजा छैठौंले सफल कार्यकालको शुभकामना समेत दिनुभएको थियोे । यसअघि राजदूत नेपाललाई प्यालेस डे सान्ता क्रुजमा स्वागत तथा सम्मान गरिएको थियोे । त्यस अवसरमा नेपालको राष्ट्रिय गान समेत बजाइएको थियो । यस्तै राजदूत नेपालले परराष्ट्र मन्त्रालयका दक्षिण तथा पूर्व एसिया हेर्ने उपमहानिर्देशक सँग समेत छोटो भेटवार्ता गर्नुभएको थियो ।

 

उक्त समारोहमा राजदरबारका प्रोटोकल प्रमुख, परराष्ट्र मन्त्रालयका अधिकारीहरु, नेपाली दूतावासका कर्मचारीहरु र स्पेनिस सञ्चारमाध्यमका प्रतिनिधिहरुको उपस्थिति रहेको दूतावासले जनाएको छ । नेपाल र स्पेनका बीचमा सन् १९६८ मा दौत्य सम्बन्ध स्थापना भएको थियोे ।

 

नेपालले गत महिना म्याड्रिड पुगेर राजदूतको जिम्मेवारी सम्हाल्नु भएको हो । कूटनीति, राजनीति, अन्तर्राष्ट्रिय मामिला, विकास र नीति निर्माणलगायतका विषयमा विज्ञका रूपमा काम गर्दै आउनुभएका नेपाललाई राष्ट्रपति रामचन्द्र पौडेलले गत मङ्सिर २८ गते राजदूतमा नियुक्त गर्नुभएको थियो । यसअघि उहाँ पोर्चुगलका लागि राजदूतमा नियुक्त हुनुभएको थियो ।

प्रतिक्रिया