काठमाडौं । बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले देश छाडेको घटनाबारे नेपालको केन्द्रीय सुरक्षा समितिमा छलफल भएको छ ।
गृह मन्त्रालयमा आयोजित केन्द्रीय सुरक्षा समितिको बैठकले बंगलादेशको आन्दोलनको असर नेपालमा पनि पर्नसक्ने आंकलन गर्दै सीमा नाकामा कडाइ गर्ने र सुरक्षा सतर्कता बढाउने निर्णय गरेको हो ।
गृहमन्त्री रमेश लेखक, सचिव एकनारायण अर्याल, आईजीपी वसन्त कुँवर, सशस्त्रका आईजी राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा सहभागी बैठकले कोशी प्रदेशका झापा, मोरङ र सुनसरीका सीमा नाकामा कडाइ गर्ने निर्णय गरेको हो ।
बंगलादेशमा आरक्षणको विरोधमा भएको प्रदर्शनमा ‘लक्षित समूह र व्यक्तिहरू’ र भारतमा बस्ने बंगालीहरु नेपालमा आउने सक्ने भन्दै सीमा सुरक्षामा कडाइ गरिएको हो ।
यसैबीच बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरुलाई देश नछोड्न दुताबासले आग्रह गरेको छ । चिकित्साशास्त्र अध्ययनका लागि पुगेको करीब २ हजार ६ सय नेपालीमध्ये अझै ४ सय विद्यार्थी बंगलादेशमा रहेका कारण बंगलादेशस्थित नेपाली दुताबासको समन्वय नगरी देश नछोड्न आग्रह गरिएको हो ।