२०८१, ३० बैशाख आईतवार
×

ट्रेन्डिङ

विदेशमा बसेका नेपालीका गुनासा र समस्या सम्बोधन गर्न नयाँ व्यवस्था

0 Shares

काठमाडौं । कन्सुलर सेवा विभागले आजबाट विदेशमा बसेका नेपालीहरुका गुनासो तथा समस्यालाई सम्बन्धित दुतावासमार्फत दर्ता गराउन सक्नेगरी अनलाइन प्रणालीको शुभारम्भ गरेको छ ।

बिहीवार विभागस्थित कार्यालयमा एक कार्यक्रमबीच गुनासो तथा समस्यालाई सम्बन्धित दुतावासमार्फत सहजै दर्ता गराउन सक्ने अनलाइन प्रणालीको शुभारम्भ गरेको हो ।

नयाँ मोड्युलको अनलाइन प्रणालीको शुभारम्भ गर्दै उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले कन्सुलर सेवा अनलाइनबाटै लिनसक्ने कामको प्रचारप्रसार गर्न नसक्दा विभागमा धाइरहने समस्या रहेको भन्दै ब्यापक प्रचारप्रसार गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले कन्सुलर सेवा गाउँपालिका, नगरपालिकाबाटै अनलाइन फारम भरेर लिन सकिने उल्लेख गर्नुभयो । उहाँले फारम भरेपछि विभागले तत्काल नै कार्यान्वयनमा लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

मन्त्री श्रेष्ठले आजबाट प्रारम्भ भएको नयाँ मोड्युलले सबै नियोगहरुमा तथा देशभित्र र बाहिर पनि सबैले कन्सुलर सेवा प्राप्त गर्नका निम्ति अनलाइनबाट नै सेवा लिन सकिने व्यवस्था शुरु गरेको बताउनुभयो ।

उपप्रधनमन्त्री श्रेष्ठले सरल र पारदर्शी ढंगले कन्सुलर सेवा हरेकले प्राप्त गर्नसक्ने व्यवस्थाअन्तर्गत नयाँ मोड्युल आजदेखि प्रारम्भ भएको बताउनुभयो । उहाँले आगामी एक हप्ताभित्रै मन्त्रालयले विदेशमा रहेका नेपाली श्रमिकहरु घाइते र मृत्यु भएको अवस्थामा उनीहरुको क्षतिपूर्ति सहितको माग दाबीका लागि दुतावास नै पुग्नुपर्ने समस्या घरबाटै गर्नसक्ने गरी व्यवस्था गर्ने पनि बताउनुभयो । उहाँले समस्या समाधानका लागि घरबाटै फारम भरेर काम गर्नसक्ने व्यवस्था गर्न लागेको बताउनुभयो ।

उपप्रधनमन्त्री श्रेष्ठले भन्नुभयो, ‘अहिले हामीले केही गर्नै पर्दैन । गाउँबाटै हामीले कन्सुलर सेवा अनलाइन फारम भरे पुग्छ । तुरुन्तै हामी कार्यान्वयको प्रक्रियामा जान्छाँै । विधि सम्मत ढंगले जान्छाँै । कहाँ पुगेको छ काम ? भन्नेसम्मको हेर्न पाइन्छ । हामीले क्षतिपूर्ति रकमहरुको सन्दर्भमा समेत त्यो क्षतिपूर्ति रकमको प्रोसेस कहाँ पुगेको छ, पैसा यहाँ आइपुग्यो की पुगेन, जिल्ला कार्यालयमा पुग्यो की पुगेन समेत हेर्न पाइन्छ । आजदेखि यो नयाँ मोड्युलले सबै नियोगहरुमा हामीले देशभित्र र बाहिर पनि सबैले कन्सुलर सेवा प्राप्त गर्नका निम्ति यसरी अनलाइनबाट नै सेवा लिन सकिने व्यवस्था गरेका छाँै । सरल र पारदर्शी ढंगले कन्सुलर सेवा हरेकले प्राप्त गर्नसक्ने व्यवस्थाअन्तर्गत नयाँ मोड्युल आजदेखि प्रारम्भ गरेका छौँ । अर्को पाँच, सात दिनपछि नयाँ डेभलपमेण्ट थाहा पाउनुहुन्छ ।’

उपप्रधनमन्त्री श्रेष्ठले कन्सुलर सेवालाई गाउँपालिका, नगरपालिकाहरुबाट नै गर्नसक्ने अनलाइन प्रणाली शुरुवात गरिसकेको बताउँदै नेपाल प्रहरीको चारित्रिक प्रमाणपत्रका लागि गाउँपालिका, नगरपालिकाहरुबाट नै गर्नसक्ने अनलाइन प्रणालीको व्यवस्था गरिसकेको बताउनुभयो । उहाँले कन्सुलर सेवालाई अझ प्रभावकारी ढंगले अघि बढाउने काममा लागिरहेको जिकिर गर्नुभयो ।

प्रतिक्रिया