काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सवारी दुर्घटना न्युनिकरणका उपाय अवलम्वन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
मंगलबार सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायातामन्त्री प्रकाश ज्वालालाई भेटेर राष्ट्रिय स्वतन्त्र पार्टी सांसद तथा नेताहरुले सवारी दुर्घटना न्युनिकरणका उपाय अवलम्वन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । उनीहरुले ज्ञापन पत्र बुझाउँदै पार्टीकी सहमहामन्त्री सुमना श्रेष्ठले दुर्घटनाबाट हुने मानवीय क्षति सरकारलाई सामान्य लाग्न थालिसकेको हो ? भन्दै मन्त्री ज्वालासँग प्रश्न गर्नुभयो ।
मन्त्री ज्वालाले यस वर्षको मंसिर महिनासम्म देशभर साना ठूला गरेर करिव १० हजार सात सय ४५ दुर्घटना भएको प्रहरीको तथ्यांक रहेको बताउनुभयो । उहाँले यी दुर्घटनामा ९१६ जनाले ज्यान गुमाएका र २ हजार ७९१ जना गम्भीर र ११ हजार ९१ जना सामान्य घाइते भएका प्रहरीको तथ्यांक रहेको बताउनुभयो । नेपाल प्रहरीकाअनुसार दैनिक ५४ वटा दुर्घटना र त्यसमा ६ जनाको मृत्यु गरेको तथ्यांक आफूले पाएको पनि बताउनुभयो ।
ज्ञापन पत्र ग्रहण गर्दै मन्त्री ज्वालाले सवारी दुर्घटनाको विषयलाई लिएर सरकार गम्भीर रहेको बताउनुभयो । उहाँले सरकारले समस्याको समाधान गर्नेगरी काम गरिरहेको बताउनुभयो । उहाँले घटना भइसकेपछि त्यसलाई बेवास्ता गरेर सरकार जान नसक्ने बताउनुभयो । उहाँले सडकलाई खाल्डाखुल्डी रहीत बनाएर, सडक सुधारका कामलाई तिब्रता दिएर र सवारीसाधन परीक्षणका कामलाई अझै व्यवस्थित गर्ने तथा चालकलाई प्रशिक्षण दिने काम गरेर पनि सवारी साधन दुर्घटनाको समस्या समाधान गर्ने पहल गरिरहेको बताउनुभयो ।
सरकार सवारी साधन दुर्घटनाको न्युनिकरणका लागि आवश्यक काम गरेर अघि बढीरहेको बताउनुभयो ।