
काठमाडौं । योमरी पुर्णिमा अर्थात २० औं ज्यापु दिवसको अवसरमा लन्डन बस्दै आएकी मनिषा डंगोल श्रेष्ठलाई उद्यमशिलता सम्मान प्रदान गरिएको छ । परम्परागत त्यंगः त्वाः खलको संयोजकत्वमा ज्यापु संस्कृति विकास कोषको आयोजनामा भएको भब्य सामारोहमा श्रेष्ठलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मान गरेका हुन् ।
श्रेष्ठले दशकौंदेखि नेपाली उत्पादन, कपडालाई विश्व बजारमा पुर्याएर नेपाली पहिचानको प्रवद्र्धन गरेको र समाजमा निरन्तर योगदान पुर्यावापत ज्यापु उद्यमशील पदकबाट सम्मानित गरिएको हो । प्रधानमन्त्री प्रचण्ड र प्रदेशका पर्यटन तथा संस्कृतिमन्त्री पुकार महर्जनले सम्मान पत्र हस्तान्तरण गरेका हुन् ।
विभिन्न अन्तर्राष्ट्रि अवार्ड समेत पाइसकेकी श्रेष्ठ लण्डनकी सफल युवा उद्यमी हुन् । लन्डन फेसन हाउस ग्रुप अफ कम्पनीकी निर्देशक, मनिषा मिसेस नेपाल युनिभर्स २०१८ हुन् । उनले फिलिपिन्समा अन्तर्राष्ट्रिय प्रतियोगिता, मिसेस युनिभर्सका लागि नेपालको प्रतिनिधित्व गरेकी थिईन। उनले मिसेस युनिभर्स एन्जल हार्टको उपाधि जितेकी थिईन ।
शारीरिक अशक्तहरुको हेरचाह गर्ने संस्था सेरेब्रल पाल्सी नेपालको आधिकारिक सद्भावना दूत समेत रहेकी श्रेष्ठले सम्मानित भएकोप्रति आफूलाई थप जिम्मेबारी महशुस भएको प्रतिक्रिया दिइन । उनले भनिन्,‘विविध र समृद्ध संस्कृति भएको समुदाय नेवामा आबद्ध हुन पाउँदा र आफ्नो जरासँग जोडिन पाउँदा सधैं गर्व महसुस गर्छु। सम्मानले मलाई थप जिम्मेवारी, हौसला प्रदान गरेको छ । त्यसैले आगामी दिनहरूमा पनि नेवा संस्कृति र भाषाको विकास, संरक्षणका लागि सक्दो सहयोग गर्ने प्रयास गरिरहने छु ।’
योमरी पुन्ही गुठीले हरेक वर्ष शिक्षा, खेलकुद, व्यापार, सामाजिक, सांस्कृतिक लगायतका क्षेत्रमा राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरमा आ–आफ्नो क्षेत्रमा योगदान गरेका ज्यापु समुदायका नेवाहरूलाई विशेष सम्मान गर्दै आएको छ । सम्मान समारोहपछि प्रधानमन्त्रीले सम्मानित हुनुहुने सबैलाईए बधाई दिदै ज्यापू महागुथिलाई सरकारको तर्फबाट कोषको व्यवस्था गरिदिने प्रतिबद्धता जनाए ।