काठमाडौं– गैर आवासीय नेपाली संघको विवाद झनै बढ्दै गएको छ। कार्तिक २ गते मतदानपछि आएको नतिजासँगै विवाद चुलिएको हो। अहिलेको नतिजाअनुसार बद्री केसी संघको अध्यक्षमा निर्वाचित भए पनि यसलाई मान्यता दिन नसकिने पराजित पक्षले बताएको छ।
महासचिवका उम्मेदवार रहेका बुद्धि सुवेदीले निर्वाचन अपेक्षा गरेअनुसारको नभएको र भेरो भोटिङ अनलाइन कम्पनी रसियन कम्पनी भएको र अस्टेलियामा दर्ता रहेको तर यो कम्पनीले ह्याक गरेर नतिजा निकाल्ने भएकाले विश्वास नलागेको बताए।
अमेरिकामा पनि यस्तो नतिजा आएकाले धेरै विवाद नगरे पनि अहिले प्रमाणित भएको बताए। उनले यस नतिजाले ८० लाख गैर आवासीय नेपाली भएको संस्थाले विश्वास गुमाएको बताए।
उनले उपाध्यक्षका उम्मेदवार डा केशव पौडेलको मत नेपालबाट खसेको शून्य मत रहेकाले पनि प्रमाण स्वतः सिद्ध हुने बताए। उनले साइबर क्राइममासमेत यस विषयमा निवेदन हालेको बताए।
परराष्ट्र मन्त्रालयले पछिल्लो आफ्नो जानकारीअनुसार निर्वाचन प्रक्रियालाई स्थगत गर्नु र मान्यता नदिनु भन्ने परिपत्र गरेको उनले जानकारी दिए।
त्यस्तै निर्वाचित उपाध्यक्ष हेमराज शर्माले अनलाइन भोटिङबाट आएको परिणामलाई पनि स्वीकार गर्न सक्नुपर्ने बताए। उनले एक उपाध्यक्षका उम्मेदवारको नेपालबाट खसेको मत शून्य हुनु समस्याको जड रहेको बताए।
शून्य नहुनुपर्ने भए पनि मत नहराएको तर टेबुलमा मत गणना गर्न त्रुटि भएको हुनसक्ने उनको भनाइ छ।
उनले भेरो आएर यथार्थलाई भनिदिनुपर्ने बताए। पुनः गणना गर्नुपरे पनि आफूहरु तयार रहेको उनी बताउँछन्।