
काठमाडौं । काठमाडौंबाट साउदी अरबको दमामका लागि उडेको नेपाल एअरलाइन्सको जहाज बीच बाटोबाटै काठमाडौं फर्किएको छ ।
गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको आर.ए ४१२ कलसाइन भएको विमान करीब एक घण्टापछि काठमाडौंमै फर्किएको हो । विमानस्थल स्रोतका अनुसार उक्त जहाज पाकिस्तानमाथिको आकासबाट फर्किएर राति सवा ११ बजे काठमाडौंमा अवतरण गरेको हो । जहाज आसपास केही खतरा भए त्यसको संकेत दिने प्रविधि (टिकास) मा खराबी देखिएपछि जहाज बीच बाटोबाटै फर्किएको स्रोतले बतायो ।
उक्त जहाजको प्राविधिक परीक्षणको काम जारी छ भने यात्रुहरुका लागि वैकल्पिक जहाजको व्यवस्था गरिएको छ । जहाजको ककपिटमा ‘ट्राफिक कोलिजन एभोइडेन्स सिस्टम’ अर्थात टिकास हुन्छ । टिकासबाट पाइलटले आकाशमा उडिरहेका अन्य जहाजहरु कति दुरीमा छन् र कति उचाइमा छन् भन्ने कुरा थाहा पाउँछ । यदि टिकासमा समस्या आए अरु जहाजहरुको पोजिसन थाहा हुँदैन ।