
काठमाडौं । फुटपाथ व्यवसायीलाई विकल्प दिइनुपर्नेलगायत माग राखेर काठमाडौं महानगरपालिका कार्यालयअगाडि ९ दिनदेखि निरन्तर उभिएर विरोध जनाएका अभियन्ता ईःले आन्दोलन स्थगित गरेका छन् ।
बुधबार राति उनले पत्रकार सम्मलेन गरेर आन्दोलन स्थगित गरेका हुन् । काठमाडौं महानगरसँग सहमति भएसँगै उनको आन्दोलन स्थगित भएको हो । साना सडक व्यवसायीलाई विस्थापित गरिएको भन्दै ईः ले ९ दिनदेखि निरन्तर उभिएर विरोध जनाउँदै आएका थिए । बुधबार भएको वार्तामा महानगर र अभियन्ता ईः बीच चार बुँदे सहमति भएसँगै ईःले आन्दोलन स्थगित गरेका हुन् ।
साविकमा फूटपाथ, सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीहरुका लागि महानगरपालिकाभित्र कानुनले निषेध गरेका स्थान बाहेक अन्यत्रका उपयुक्त स्थल पहिचान गर्न महानगरपालिकाले एक हप्ताभित्र पहल गर्ने सहमतिमा उल्लेख छ । फुटपाथ, सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफत भएका सामग्रीहरु महानगरले सम्बन्धित धनीलाई फिर्ता दिने पनि सहमति भएको छ ।