२०८२, ११ बैशाख बिहीबार
×

ट्रेन्डिङ

जीवनशैली बदल्न स्ट्रेजयो, लक्ष्य निर्धारण गरेर सफल हुन सिकाउँछः संस्थापक ढुंगेल

0 Shares

सूचना, विज्ञान र प्रविधिको क्षेत्रमा पछिल्लो दुई दशकमा विश्वले ठुलै प्रगति गरेको छ। नेपाल पनि विस्तारै यसको लय समात्ने कोसिसमा छ। नेपाली युवाहरू पनि विश्वका प्रसिद्ध विश्वविद्यालयमा पुगेर अध्ययन गरेर आफूलाई अब्बल बनाइरहेका छन्। सफ्टवेयर इन्जिनियर शरद ढुंगेल पनि सूचना प्रविधिको क्षेत्रमा सशक्त रुपमा काम गरिरहेका छन्। अमेरिकामा उच्च शिक्षा हासिलपछि स्ट्रेचियो सञ्चालनमा ल्याएका सफ्टवेयर इन्जिनियर ढुंगेलसँग सूचना प्रविधि र स्ट्रेचयोका सन्दर्भमा गरिएको कुराकानीः

–तपाई कसरी अमेरीका जानुभयो ? कुन विषय पढ्नु भयो ? र, यो स्ट्रेचयो कसरी बनाउनुभयो ?

–म स्नातक पढ्न लागि २००८ मा अमेरिका आएँ। हार्बर्ड विश्वविद्यालयमा कम्प्युटर इन्जिनियरिङ अध्ययन सुरु गरेँ। पढाइ पश्चात मैले सफ्टवेयर इन्जिनियरको रुपमा काम सुरु गरेँ। काम गरेको ८ वर्ष भयो। यस शिलशिलामा मैले कामको साथ साथै आफ्नो जीवनशैलीलाई कसरी सुधार गर्ने, जीवनलाई प्राथमिकता दिएर हेर्दा आफ्नो जीवनमा के–के गर्दा सन्तुष्टी र आनन्ददायी बन्न सक्छ भनेर आध्यात्मिक र आधुनिक पद्धतिबारे अध्ययन पनि गरेँ । यसरी पृष्ठभूमिबाटै हेर्दा आफ्नो बानी र व्यवहार सुधार गर्नुपर्ने रहेछ । जस्तै राम्रो सोच र चिन्तनले मात्रै राम्रो विचार आउँछ । त्यसपछि जीवनशैलीलाई आमूल सुधार गर्न सकिन्छ भनेरै मैले प्रविधिमार्फत नयाँ कामको सुरुआत गर्ने योजना बनाएँ । जीवनसँग जोडिएको विषयमा गहन अध्ययनले नै मलाई ‘स्ट्रेचयो एप’ निर्माण गर्ने प्रेरणा मिल्यो । क्यालिफोर्नियामा बसेर दुई वर्षयता एपमा काम गरिरहेको छु । र, गतवर्ष मात्रै स्ट्रेचयो कम्पनी दर्ता गरेर द्रूत रुपमा काम अघि बढाएको छ ।

–जीवनशैली सुधार्ने प्रयास, उद्देश्य र उत्प्रेरणाबाट जुन पहल थाल्नुभएको छ, यो कतिको चुनौतीपूर्ण छ ?

–कुनै काम चुनौतीबिनाको हुँदैन । मलाई सानैदेखि कम्प्युटरमा रुचि थियो । कतै जाँदा पनि कम्प्युटर देख्दा उत्साहित हुन्थे । प्रविधिको विषयमा धेरै जिज्ञासा हुन्थ्यो । त्यही दौरान इन्जिनियरिङ अध्ययन गर्न अमेरिका जानुपर्छ भन्ने सोच आयो । आफ्नो त्यही जिज्ञासाले गर्दा नै म यो क्षेत्रमा अगाडि बढेँ । इन्जिनियरिङ अध्ययन पनि त्यही उत्प्रेरणा र जिज्ञासाका साथ पुरा गरेँ । यो विषय अध्ययनको शिलशिलामै जीवनशैलीमा यति अन्तरघुलन भइसकेको थियो कि, एकअर्काको पूरक जस्तै भयो ।

पहिल्लो वैश्विक परिवेशमा सामाजिक सन्जाल, फोनहरु हाम्रो जीवनका अङ्गजस्तै भएका छन् । त्यसैले प्रविधिको प्रयोगबाटै जीवनको आधारभूत पक्षमा सुधार गर्ने र सुन्दर जीवनको एउटा मार्गचित्र कोर्नका लागि नै यो एप निर्माण गरेको हो ।

–नेपाली युवाले विभिन्न देशमा गएर व्यवसाय सञ्चालन गरेका धेरै उदाहरणहरु छन् । तपाई अमेरिका क्रियाशील हुनुहुन्छ। यसरी अन्य देशमा गएर व्यवसाय र कम्पनी सञ्चालन गर्न कतिको सहज छ ?

–कम्पनी स्थापना गर्नका लागि कुनै राज्यमा बसोबास गर्ने हुनुपर्छ । दर्ता गर्न सजिलो छ । सबै कुरा अनलाइनबाटै गर्न सकिन्छ ।

–स्ट्रेचयोले कसरी काम गर्छ, यो कसरी प्रयोग गर्ने ?

–यो अहिले मोबाइल एपको रुपमा छ । इन्ड्रोइड र आइफोनमा उपलब्ध छ । यसलाई गुगल प्लेस्टोरमा गएर स्ट्रेचयो सर्च गरेर डाउनलोड गर्नुपर्छ । यो एपमा विभिन्न किसिमका फिचर छन् । जसले युवालाई आफ्नो लक्ष्य निर्धारण गर्न सहयोग गर्छ । त्यसपछि लक्ष्य पुरा गर्न के गर्ने भन्ने कुरामा पनि दिशानिर्देश गर्छ । अहिलेसम्म भएका युवाको फिडब्याक लिएर यसलाई अझै सुधार गरिरहेका छौँ । हरेक दुई हप्तामा अपडेट गरिरहेका छौँ । प्रमुखतः प्रयोगकर्तालाई आफ्नो जीवनशैली सुधार्न सहयोग पुग्छ ।

–नेपाली प्रयोगकर्ताका सन्दर्भमा कस्तो छ सेवा शुल्क ? र अन्य देशका नागरिकका लागि कस्तो छ ?

–अहिले चाहिँ हामीले थुप्रै ठाउँमा विभिन्न तरिकाले प्रयोग गरिरहेका छौँ । अमेरिकामा एकसाता निःशुल्क छ । त्यसपछि एक वर्षको ३० डलर शुल्क तिर्नुपर्छ । नेपालीलाई निःशुल्क उपलब्ध छ । नेपालमा यसको प्रयोग व्यापक बनाउन हाम्रो टिमले काम गरिरहेको छ ।

प्रतिक्रिया