
काठमाडौं । सरकारले हृदयघातबाट निधन हुनुभएका एमाले उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष सुबास नेम्वाङलाई राजकीय सम्मान दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको आज बसेको वैठकले नेम्वाङको अन्त्यष्टिमा राजकीय सम्मान दिने र अन्त्यष्टि गरिने दिन भोलि सार्वजनिक विदा समेत दिने निर्णय गरेको हो । गएराती आफ्नै निवासमा अचानक हृदयघात भएका नेम्वाङको गए रातीनै निधन भएको हो । राती साढे १ बजेतिर नेम्वाङ शौचालयमा बेहोस अवस्थामा फेला परेपछि अस्पताल लगिएको थियो । राती १ बजेर ५० मिनेट जाँदा शिक्षण अस्पताल पुर्याइएको र अस्पताल पुर्याउँदा नै उहाँको निधन भईसकेको शिक्षण अस्पताल आकस्मिक विभागका प्रमुख डा रमेश महर्जनले जानकारी दिनुभएको छ ।
तर अस्पतालले विहान साढे ४ बजे मात्रै निधनको औपचारिक घोषणा गरेको थियो । नेम्वाङको निधनको खबर लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली लगायत नेताहरु शिक्षण अस्पताल पुगेका थिए । इलाम क्षेत्र नंबर २ बाट प्रतिनिधिसभाका लागि निर्वाचित नेम्वाङको जन्म विसं २००९ फागुन २८ गते इलाममा भएको थियो ।
२०५६ सालदेखि उहाँ इलाम २ बाट निरन्तर सांसद रहँदै आउनु भएको थियो । २०४८ सालदेखि २०५२ सालसम्म राष्ट्रियसभा सांसद हुनु भएका नेम्वाङ २०५१ साल गठित एमालेको पहिलो सरकारमा कानुन मन्त्री हुनुहुन्थ्यो । २०६३ सालमा पुनस्थापित प्रतिनिधिसभाको सभामुख बन्नुभएका नेम्वाङ त्यसपछि गठित अन्तरिम संसदको पनि सभामुख बन्नुभयो । पहिलो र दोस्रो संविधान सभाको अध्यक्ष समेत बन्नुभएका नेम्वाङकै सक्रियतामा २०७२ असोज ३ गते संविधानसभाबाट नयाँ संविधान जारी भएको थियो ।
२०२८ मा अनेरास्ववियुबाट राजनीति शुरु गर्नुभएका नेम्वाङ २०७८ मा एमालेको उपाध्यक्ष बन्नु भएको थियो । यसैबीच, नेम्वाङको पार्थिव शरीर त्रिवि शिक्षण अस्पतालबाट एमाले केन्द्रीय कार्यालय च्यासल लगिएको छ । नेम्वाङको पार्थिब शरीर श्रद्धाञ्जलीका लागि अहिले ९ बजेदेखि पार्टी कार्यालयमा राखिने एमालेले जनाएको छ । उहाँका दुवै छोरा विदेशमा रहेकाले उनीहरु आएपछि भोलि अपराह्न मात्रै अन्तिम संस्कार गरिने भएको छ ।