२०८०, १३ फाल्गुन आईतवार
×

ट्रेन्डिङ

निगम जहाज खरिद गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ : पर्यटनमन्त्री किराती

0 Shares

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगम जहाज खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आज सिंहदरबारमा भएको आजको बैठकमा मन्त्री किरातीले निगम आफैले आन्तरिक उडानका लागि तीन थान जहाज खरिद गर्न लागेको जानकारी दिए ।

“दुर्गम क्षेत्रका विमानस्थलमा उडान भर्नका लागि तीन थान ट्वीनअटर जहाज खरिद गर्ने अन्तिम तयारीमा छौँ”, उनले भने । निगमले आन्तरिकतर्फ २२ गन्तव्यमा सेवा दिनेगरी जहाज खरिदको प्रक्रिया अघि बढाइएको उनको भनाइ छ । निगमसँग हाल आन्तरिक उडानमा दुई थान ट्वीनअटर जहाज छन् ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले मन्त्रालयको नीतिगत सुधार र योजनाबद्ध कार्यक्रम अघि बढाइने बताइन् । बैठकमा समिति सभापति राजकिशोर यादवले मन्त्रालयको नीतिगत सुधार र सामूहिक पहलकदमीका लागि मन्त्रलाईलाई समितिले भरपुर सहयोग गर्ने विश्वास दिलाए ।  समितिको आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ब्रिफिङ लिएको हो । मन्त्रालयका सचिव भरतमणि सुवेदीले मन्त्रालयको कार्य प्रगतिबारे प्रस्तुति दिएका थिए । ।

विमानस्थल सञ्चालन किन नगरेको ? सांसद

आजको बैठकमा सांसदहरुले मुलुकमा विमानस्थलको प्रभावकारी सञ्चालन गर्न मन्त्रालय र मातहत निकायको ध्यानाकर्षण गराएका छन् । बैठकमा समिति सदस्यले दबाबका भरमा विमानस्थल निर्माण गर्ने प्रवृत्ति बन्द गर्न र भएका विमानस्थलको व्यावसायिक प्रयोजनमा ल्याउन सुझाव दिए । अर्बौं खर्चेर बनाइएका हवाई पूर्वाधारको प्रभावकारी सञ्चालन नहुँदा मुलुकलाई आर्थिकरुपमा भार बढिरहेको उनीहरुको भनाइ थियो ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनका लागि दीर्घकालीन योजना बनाउन पनि सांसदहरुले माग गरेका छन् ।

सांसद डा धवलशम्शेर राणाले विमानस्थल बने पनि प्रभावकारी सञ्चालन हुन नसकेको बताए । उनले हवाई पूर्वाधारमा गरिएको लगानीको प्रतिफल कहिले प्राप्त गर्ने भनी प्रश्न गरे । सांसद राणाले नेपाललाई हवाई रुट दिनेबारे भारतसँग भइरहेको पछिल्लो प्रगतिबारे जानकारी गराउन पनि माग गरे ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार मुलुकभर हाल ५५ वटा विमानस्थल छन् । तीमध्ये ३४ वटा सञ्चालनमा छन् भने २१ वटा विमानस्थल बन्द छन् । त्यसैगरी दुई वटा विमानस्थल निर्माणाधीन छन् ।

सांसद  जङ्गबहादुर राणाले आन्तरिक विमानस्थलको क्षमता अभिवृद्धिका लागि टर्मिनल भवनलगायतका पूर्वाधार निर्माणमा अर्बौं रकम खर्च भएको भन्दै ती विमानस्थलको दिगो व्यवस्थापनको योजना अभाव रहेको उल्लेख गरे ।

उनले विराटनगर, भरतपुर, नेपालगञ्जलगायत विमानस्थलमा टर्मिनल भवन निर्माणका लागि ठूलो रकम खर्च भएको भन्दै अहिलेको आर्थिक अवस्थालाई मध्यनजर गर्दै आवश्यकता र औचित्यताका आधारमामात्रै विमानस्थलको स्तरोन्नत्ति गर्न आग्रह गरे ।

सांसद एकनाथ ढकालले नेपालमा विदेशी पर्यटक आगमन बढाउन मन्त्रालयले प्रभावकारी नीति र योजना ल्याउनुपर्ने खाँचो औँल्याए । उनले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको सुधार गरी निगमको सेवालाई प्रभावकारी बनाउन ध्यानाकर्षण गराए ।

सांसद शिशिर खनालले भैरहवाबाट काठमाडौँ ट्रान्जिट भएर विभिन्न गन्तव्यको उडान असुरक्षित र आर्थिकरुपमा महँगो भएको बताए । उनले नेपालको हवाईमार्गबारे भारतसँग भएको प्रगतिबारे जानकारी गराउन पर्यटन मन्त्रीलाई आग्रह गरे ।

सांसद सुनिता बरालले दुर्गम क्षेत्रको हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउन सरोकारवाला निकायको ध्यानाकर्षण गराइन् । सांसद प्रभु साहले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रगतिबारे समितिलाई अवगत गराउन माग गरे ।

बैठकमा सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिँदै पर्यटनमन्त्री सुदन किरातीले विमानस्थल निर्माण भए पनि सबै विमानस्थल प्रभावकारीरुपमा सञ्चालन हुन नसकेको स्वीकार गरे । उनले दुई अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन तथा आन्तरिक विमानस्थलको भरपूर सदुपयोगका लागि पहल भइरहेको उल्लेख गरे ।

“कतिपय विषय निकै गम्भीर छन् । हवाई संरचना (विमानस्थल) बनाउने अनि हवाई जहाज नउडाउने”, पर्यटनमन्त्री किरातीले भने, “अहिले पनि २२ वटा विमानस्थलमा उडान भएको छैन त्यहाँ खर्बांै बजेट लगानी भएको छ । बनिसकेका विमानस्थलको प्रभावकारी सञ्चालनका लागि मन्त्रालय योजनाबद्धरुपमा अघि बढेको छ ।”

उनले विसं २०३५ को ऐनलाई संशोधन र परिमार्जन गरी समयसापेक्ष नयाँ ऐन ल्याउन मन्त्रालयले काम गरिरहेको जानकारी दिए । पर्यटनमन्त्री किरातीले पर्यटनलाई अर्थतन्त्रको आधार मानिए पनि यो राज्यको प्राथमिकतामा नपरेको गुनासो गरे ।

प्रतिक्रिया