
काठमाडौं। काठमाडौंको पेप्सीकोलामा सवारी दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।
जडीबुटीबाट पेप्सीकोलातर्फ आउँदै गरेको क्षेत्रीय उपत्यका बस व्यवसाय सङ्घको बा३ख ४८४८ नम्बरको बस र विपरीत दिशाबाट आएको बा६च ५३४२ नम्बरको बलेरो गाडी आज बिहान एकआपसमा ठोक्किँदा सो दुर्घटना भएको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले पेप्सीकोलामा सवारी दुर्घटना हुँदा १४ जना घाइते भएको राससलाई जानकारी दिए।
दुई गाडी ठोक्किँदा बागमती प्रदेश०२-०३७प ५३११ नम्बरकोे स्कुटर र बागमती प्रदेश०२–०४१प ४८३८ नम्बरको मोटरसाइकलमा समेत ठोक्किएको थियो।
प्रहरी प्रवक्ता ढुङ्गेलका अनुसार घाइतेमध्ये आठ जनाको पेप्सीकोलास्थित मदरल्याण्ड अस्पताल र छ जनाको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा संलग्न बस चालक रामेछापका २४ वर्षीय जनक राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।