काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का उपाध्यक्ष क्यामरुन एलफोर्ड नेपाल आइपुग्नुभएको छ ।
करिब ७० करोड डलरको एमसीसी परियोजनाको बुधबार उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । त्यसैलाई लक्षित गर्दै उपाध्यक्ष क्यामरुन काठमाडौं आउनुभएको हो ।
तीन दिने नेपाल बसाइका क्रममा क्यामरुनले नेपालमा अमेरिकी सहयोगमा सञ्चालित अन्य परियोजना र स्थानीय सांस्कृतिक महत्वका क्षेत्रहरुको पनि भ्रमण गर्ने बताइएको छ । भ्रमणका क्रममा म्यामरुनले प्रधानमन्त्री पुष्पकमल दाहालसहित प्रमुख राजनीतिक दलका नेताहरुलाई पनि भेट्ने कार्यक्रम रहेको छ ।
बुधबार उद्घाटन गरेपछि एमसीसी कार्यान्वयनमा जाने छ । एमसीसी परियोजना अन्तर्गत ३१५ किलोमिरट विद्युत प्रसारण लाइन र १२ मिटर चौडा ७७ किलोमिटरको स्तरोन्नती गर्ने योजना रहेको छ । औपचारिक शुरुवात भएको पाँच वर्षभित्र उक्त कार्य पूरा गर्ने लक्ष्य राखिएको छ । सो अवधिमा काम पूरा नभए त्यसको सम्पूर्ण खर्च नेपाल सरकारले बेर्होनु पर्ने छ ।
अमेरिकाले सो परियोजनाका लागि ५० करोड डलर सहयोग दिने छ भने नेपालले १३ करोड डलरको योगदान गर्नुपर्ने छ । एमसीसी उपाध्यक्ष क्यामरुनको भ्रमणलगत्तै अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भान होलेन पनि सेप्टेम्बर पहिलो हप्ता नेपाल आउने कार्यक्रम छ ।