काठमाडौं । सुन तस्करी तथा अपराधिक पृष्ठभूमि रहेका बेल्झियम नागरिक दावा छिरिङले नेपाली नागरिकता लिएको विषयमा अनुसन्धान शुरु भएको छ । गृहमन्त्रालयले उपसचिव कृष्ण कटुवालको संयोजकत्वमा अनुसन्धान शुरु गरेको हो ।
दावा अनलाइन ग्याम्ब्लिङ, म्याच फिक्सिङ, अश्लील भिडियो देखाएर र ‘लोन एप’ मार्फत अवैध असुली गर्ने चिनियाँ गिरोहलाई नेपाल ल्याउने एजेण्ट हुन् । दावा नेकपा (माओवादी केन्द्र)का नेता एवं पूर्व सभामुख ओनसरी घर्ती र पूर्व मन्त्री वर्षमान पुन, उपराष्ट्रपति नन्दबहादुर पुन र रोल्पाली माओवादीसँग निकट सम्बन्ध भएका व्यक्ति हुन् ।
दावा छिरिङले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट नागरिकता लिएको भेटिएपछि उनको सो विषयमा छानवीन गर्न समिति बनेको हो । २०७४ पुस २० मा उनले काभ्रेबाट नागरिकता लिएको भेटिएको थियो । ‘दावा छिरिङले नागरिकता कहाँबाट कसरी लिएका हुन् उनलाई कसले नागरिकता दियो यो विषयमा मत्रालयले छानविन समिति बनाएर अनुसन्धान शुरु गरेको छ ’, गृहमन्त्रालयका प्रवक्ता सहसचिव नारायण प्रसाद भट्टराईले भने ।
हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा पक्राउ गरिएका ४ जना चिनियाँ नागरिकसँग नेपाली नागरिकता भेटिएको छ । ३ जनाले काभ्रेबाट र एकजनाले काठमाडौँबाट नागरिकता लिएको भेटिएको छ । दावासँग बेल्जियमको राहदानी पनि छ । दावाले २०७४ पुस २० गते नागरिकता लिएका थिए । नेपाली नागरिकतामा भने उनको नाम निमा तामाङ छ । नमोबुद्ध–११ ठेगाना राखिएको छ ।
दावाको समूहले नेपालमा अवैध धन्दामा लागेको तथ्य २०७६ सालमै फेला परेको थियो । त्यतिखेर प्रहरीले काठमाडौंबाट १२२ जना चिनियाँलाई अनलाइन ग्याम्ब्लिङ, म्याच फिक्सिङ र अश्लील भिडिओ देखाएर चीनमा रहेका व्यक्तिबाट रकम असुलेको आरोपमा पक्राउ गरेको थियो । चीनको आग्रहमा गरिएको प्रहरी अपरेशनबाट एक हजारभन्दा बढी चिनियाँ पक्राउ पर्ने अपेक्षा भएपनि उनकै सूचनाको आधारमा अन्यचाहि भागेको प्रहरीले अनुमान गरेको थियो ।