
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकलाई सुशासन र समृद्धिको बाटोमा अगाडि बढाउन आफूले सदैव राष्ट्रिय सहमतिमा जोड दिएको बताउनुभएको छ ।
मुलुकलाई स्थिरता, स्थायित्वको साथै समृद्धि र सुशासनको नयाँ यात्रामा लैजानुको विकल्प नरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले त्यसका लागि राष्ट्रिय सहमति बनाएर अघि बढने प्रयास आफूले गरिरहेको बताउनुभयो ।
आइतबार ललितपुरको भैंसेपाटीमा निर्माण गरिएको प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुको निवास उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुले पनि आफ्नो क्षेत्रमा सामाजिक न्याय, सुशासन र समृद्धिको क्षेत्रको कामलाई प्राथमिकताका साथ अघि बढाउने विश्वास समेत व्यक्त गर्नुभयो ।
ललिता निवास प्रकरणको सबै अभियोजन सरकारी वकीलको कार्यालयमा बुझाएको स्मरण गर्दै उहाँले आजको दिनलाई आफूले सुशासनको पक्षमा एक कदम अगाडि बढेको दिनको रुपमा लिएको पनि बताउनुभयो । त्यस अवसरमा प्रधानमन्त्री दाहालले सो भवनले नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रको चित्र प्रस्तुत गरेको भन्दै त्यसमा सबैले गर्वको महशुस गर्नुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री दाहालले प्रदेशको कामकारवाहीलाई अझ बढी प्रभावकारी बनाउन पनि प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुको निवास उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । संघीयतामाथि प्रश्न उठाउनेहरुलाई पनि सो निवास निर्माणले बलियो जवाफ दिएको उल्लेख गर्दै उहाँले संघीयताको संस्थागत विकासमा पनि यसले योगदान पुर्याएको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले संघीय मन्त्रीहरुको निवासको कामले पनि केही महिनाभित्रै पूर्णता पाउने बताउनुभयो ।