२०८१, ४ माघ शुक्रबार
×

ट्रेन्डिङ

धरानमा विभाजित मनोविज्ञान र क्रियाकलापलाइ सम्वादको माध्यमबाट समाधान गर्नतर्फ प्रधानमन्त्री दाहालको अपिल

0 Shares

काठमाठौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिनयता सांस्कृतिक नगरी धरानमा भइरहेका गतिविधि र त्यसले नेपालीको सद्भाव एवं एकतामा पार्नसक्ने नकारात्मक प्रभावबारे नेपाल सरकार गम्भीर रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री दाहालले आज साँझ एक अपिल जारी गर्दै सो कुरा उल्लेख गर्नु भएको हो । अपिलमा प्रधानमन्त्री दाहालले भन्नु भएको छ –̒हरेक समस्या, बिमति र चुनौतीहरूलाई संवाद, सहमति, र सहकार्यको बलमा नै समाधान दिन सकिन्छ भन्ने तथ्य हरेक चुनौतीपूर्ण परिस्थितिमा हामीले प्रदर्शित गर्दै आएको एकता र सहकार्यले प्रमाणित गरिसकेको छ । तसर्थ, धरानमा विद्यमान विभाजित मनोविज्ञान र क्रियाकलापलाई पनि संवादको माध्यमबाट समाधान गर्न सकिनेतर्फ गम्भीर ध्यानाकर्षण गराउँदै त्यस दिशामा आवश्यक पहलका निम्ति स्थानीय राजनीतिक दल, सामाजिक संघसंस्थाहरू, बौद्धिक समुदाय र आदरणीय जनसमुदायमा म हार्दिक अपील गर्दछु ।

दाहालले नेपाल बहुजातीय, बहुभाषिक तथा बहुसाँस्कृतिक विशेषतायुक्त संघीय लोकतान्त्रिक मुलुक भएको र विविधतासहितको एकतामा आधारित हाम्रो धर्म, संस्कृति र परम्परा एकअर्काको आस्था, भावना र परम्पराप्रति सहिष्णुतासहित सामाजिक सद्भाव र राष्ट्रिय एकता एवं स्वाधीनताको पक्षमा अनुबन्धित हुँदै आएको अपिलमा उल्लेख गर्नुभएको छ । अपिलमा भनिएको छ – विश्वमा नेपाल यस्तो मुलुक हो, जसले विविधताबीचको एकतालाई शब्दमा मात्र नभएर आस्था, विचार र कर्ममा समेत आत्मसात गर्दै अगाडि बढिरहेको छ ।

 

प्रतिक्रिया