२०८१, ३१ जेष्ठ बिहीबार
×

ट्रेन्डिङ

समग्र सद्भावका लागि कांग्रेसको सार्वजनिक अपील

0 Shares

काठमाडौँ । नेपाली कांग्रेसले सामाजिक, धार्मिक, राजनैतिकसँगै समग्र सद्भाव राख्नका लागि अपील गरेको छ । केही दिनयता धरानमा भएको द्वन्द्वले हाम्रो धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सद्भावनामा खलल पुर्याउन सक्ने भन्दै यो विषयप्रति गम्भीर चिन्ता प्रकट गर्दै कांग्रेसले समग्र सद्भावका लागि सार्वजनिक अपील जारी गरेको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले अपील जारी गर्दै समग्र सद्भावका लागि आग्रह गरेका हुन् ।

यस्तो छ आज सार्वजनिक गरेको अपील–
भाद्र ९, २०८०
धरानको घटनाका सम्बन्धमा
नेपाली कांग्रेसको अपील

केही दिन यता धरानमा भएको द्वन्द्वले हाम्रो धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सद्भावनामा खलल पुर्याउन सक्ने विषयप्रति नेपाली कांग्रेस गम्भीर चिन्ता प्रकट गर्दै सामाजिक, धार्मिक, राजनैतिक समग्र सद्भावका लागि सार्वजनिक अपील गर्दछ ।

परापूर्व कालदेखि विभिन्न जात–जाति, धर्म, संस्कृति र सम्प्रदायका नागरिक आपसी सम्मान र गहिरो सद्भावले मिलेर बसेका मात्रै होइनौं, राष्ट्र निर्माण र विकासका लागि हातेमालो गर्दै आएका छौँ ।

नेपालको कानूनले हरेक ब्यक्ति र सम्प्रदायलाई अरूको धर्म, संस्कृति र आस्थामा चोट नपुर्याई आ–आफ्नो धर्म, संस्कृतिको पालना गर्ने स्वतन्त्रता प्रदान गरेको कुरा पनि भुल्न हुँदैन । साथै कसैको धर्म, संस्कृति र परम्परा प्रति कसैले दख्खल पुर्याउन पनि उचित हुँदैन ।

नेपालीको भावना र चाहना विपरित धार्मिक–सामाजिक सद्भाव भड्काउने गतिविधि हामी कसैको पनि हितमा छैन, हुन सक्दैन । यसबाट उत्पन्न हुने धार्मिक, सामाजिक तथा राजनीतिक अस्थिरता र अराजकताको धमिलो पानीमा खेल्न खोजेका दृश्य अदृश्य शक्तिहरूलाई सहयोग पुग्ने कुरामा दुई मत छैन । यसले निम्त्याउन सक्ने परिस्थिति बेलैमा अनुमान गरि हरेक व्यक्ति, समुदाय र सम्प्रदाय सचेत र संयम हुनु आजको आवश्यकता हो ।

यस विषयको संवेदनशीलतालाई मध्यनजर गर्दै राजनैतिक दल, स्थानीय जनप्रतिनिधि र धार्मिक संघ–संस्था एवं समाजका अग्रज ब्यक्तित्वहरू एक ठाउँमा उभिएर सबै जाति, धर्म एवं सम्प्रदायबीचको आपसी एकता र सद्भाव कायम राख्ने महान कार्यमा जुट्न नेपाली कांग्रेस हार्दिक अपील गर्दछ ।

जय नेपाल ।
शेरबहादुर देउवा
सभापति

प्रतिक्रिया