२०८१, १० श्रावण बिहीबार
×

ट्रेन्डिङ

संसद गतिराेध अन्त्यकाे प्रयास : राष्ट्रिय मान्यताप्राप्त दलका नेतासँग परामर्शमा प्रधानमन्त्री

0 Shares

काठमाडौं। निरन्तरको संसद अवरोध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलसँग परामर्श गरिसकेका छन्।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री दाहालले संसदको जारी गतिरोध अन्त्य गर्ने विषयमा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलसँग छलफल गरिरहेका छन्।

‘संसदको जारी अवरोध खुलाउने विषयमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग प्रधानमन्त्रीले छलफल गरिरहनु भएकाे छ।,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गाेविन्द आचार्यले डिसी नेपालसँग भने।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय न्यायिक छानविन समिति गठनको माग गर्दै साउन दश गतेदेखि निरन्तर संसद अवरुद्ध पार्दै आएको छ।

एमालेले आफ्नो माग पूरा नभएसम्म संसदको गतिरोध अन्त्य नहुने अडान राखेको छ भने सरकारले सरकारकै अंगहरुले सुन तस्करी प्रकरणमा छानविन गरिरहेको भन्दै उच्चस्तरीय छानविन समिति आवश्यक नभएको बताउँदै आएको छ। प्रतिपक्ष र सत्तापक्ष आफ्नो अडानमा कायम रहँदा संसदको गतिरोध हट्न सकेको छैन।

छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, रास्वपा सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायत सहभागी छन्।

यसैबीच सभामुख देवराज घिमिरेले संसद खुलाउने विषयमा  सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरुसँग गरेकाे छलफल विना निस्कर्ष सकिएकाे छ।

सभामुखले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा विपक्षी दलबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका थिए।

प्रतिक्रिया