काठमाडौं, असार २४ गते । नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभा सदस्य डा. आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई करोड रुपैयाँ लिएको भन्ने अडियो संवादबारे प्रहरीले आधिकारिक अनुसन्धानको तथ्य सार्वजनिक गरेको छ।
हिरासतमा रहेका नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त सन्देश शर्माको अडियो पुष्टि भए पनि यसमा डा. राणामाथि लागेको आरोप पुष्टि हुने आधार नभेटिएको हो।
डा. राणाले नक्कनी भुटानाी शरणार्थी काण्डको अनुसन्धानका दौरान आफूलाई जोडेर सार्वजिनक भएको अडियोको सत्य, तथ्य अनुसन्धान गर्न नेपाल प्रहरीमा निवेदन दिएकी थिइन्।
अभियुक्त शर्मासँग प्रहरीले वैशाख ४ गते नै बयान लिएका थिए। उनले प्रहरीमा दिएको र अदालतमा दिएको बयान एउटै रहेको बताइएको छ। डा. राणाको नाम लिइएको अडियो वैशाख १६ गते सार्वजनिक भएको थियो । उनले अडियो सार्वजनिक भएपछि वैशाख २७ गते अनुसन्धानका लागि प्रहरीमा उजुरी दिइन्।
स्रोतका अनुसार उक्त निवेदनबारे पत्र पठाउँदै प्रहरीले फोनमा बोल्ने शर्माले बयानमा दिएअनुसार आफूलाई अनुकूल हुनेगरी मात्रै नाम लिएको बताइएको छ।
तर डा. राणासँग आफ्नो परिचय नभएको र यो काण्डमा कही कतै सम्बन्ध नरहेको बताइएको छ ।
स्रोतका अनुसार शर्माले अदालतमा दिएको बयान सत्य भएकले अडियोमा बोलिएको विषयवस्तुमा सत्यता छैन। प्रहरीले निवेदनउपर पत्र पठाउँदै अदालतमा शर्माले दिएको बयानलाई आधिकारिक भनेको छ।
अभियुक्त शर्माले काठमाडौं जिल्ला अदालतमा ‘आरजु राणा, बालकृष्ण खाँड र मञ्जु खाँडको समेत नाम लिइ मैले रकम बुझाएको हो भनी कुरा गरेको हो, उक्त कुरा वास्तविक होइन, जाहेरवालाले भन्नु भने अनुसार मात्र भनेको हुँ, मैले निजलाई चिनेको छैन’ भनेको स्रोतको दावी छ ।