२०८०, ९ आश्विन मंगलवार
×

ट्रेन्डिङ

निर्वाचन बिथोल्न खोज्ने २३ समूहमाथि सरकारको निगरानी

1736 Shares

काठमाडौं । अघिल्लो निर्वाचनमा अर्धभूमिगत रहेको नेकपा विप्लव समूह शान्ति प्रकृयामा आएपछि पनि चुनाव बहिष्कार अभियान थालेको छ । विप्लव समूहले निर्वाचन बहिष्कारको घोषणासँगै सरकारले निर्वाचन बिथोल्न सक्ने खतरामा रहेका विभिन्न २३ समूहमाथि उच्च निगरानीमा राखेको छ ।

आगामी ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन बिथोल्ने निर्णय गरेको विप्लव नेतृत्वको दलसहित २३ विभिन्न समूहलाई उच्च निगरानीमा राखेको हो । सो समूहले गत मंगलबार पत्रकारसम्मेलन नै गरेर निर्वाचन बिथोल्ने निर्णय गरेको थियो । अन्य समूह पनि छिटपुट रूपमा निर्वाचन बिथोल्न भित्रभित्रै सक्रिय रहेको सूचना पाएपछि सरकारी संयन्त्र सचेत भएर निगरानीमा लागेको हो । ‘निर्वाचन बिथोल्ने वा भाड्ने कुरालाई मुकदर्शक भएर हेर्न सकिन्न’, गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले भने ।

मन्त्रालय स्रोतका अनुसार विभिन्न २३ समूह चुनाव बिथोल्ने रणनीतिमा रहेका छन् । माओवादीबाट टुक्रिएका शक्ति नै दुई÷तीनवटा छन्, अन्य ८÷१० जना व्यक्ति रहेका समूह पनि छन्, ती सबै शक्ति र समूह उच्च निगरानीमा रहेको मन्त्रालयले स्रोतले जनाएको छ ।

यो विषयमा गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले गत शनिबार विराटनगरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमासमेत सो विषयमा धारणा राख्दै निर्वाचन बिथोल्ने समूहलाई सरकारले कानुन बमोजिम कारबाही गर्ने बताएका थिए ।

उनले केही शक्तिले निर्वाचन बहिष्कार र केहीले निर्वाचनलाई शान्तिपूर्ण ढंगबाट सम्पन्न हुन नदिनेसम्मको योजना बनाएको भनेका छन् । तर निर्वाचन बिथोल्न सक्ने जुनसुकै शक्तिलाई सरकारले निगरानीमा राखिसकेको उनले स्पष्ट पारेका छन् । ‘केही शक्ति निर्वाचन बहिष्कारदेखि चुनावलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न नदिनेसम्मको योजनामा रहेको सूचना आएको छ, सरकारले निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सुरक्षा रणनीति बनाइसकेको छ, सोहीअनुसार व्यवस्था र निर्देशन भएको छ,’ गृह प्रवक्ता पोखरेलले विराटनगरमा आयोजित कार्यक्रममा भनेका थिए ।

उनले निर्वाचन विरोधी गतिविधि गर्ने समूहलाई नियन्त्रणमा लिएर उनीहरूका गतिविधि रोक्न निर्देशन गरिएकोसमेत जानकारी दिएका थिए । सरकारले निर्वाचन बिथोल्न सक्रिय समूहमा आबद्ध व्यक्तिलाई धमाधम नियन्त्रणमा समेत लिन थालिसकेको छ । निर्वाचनलाई बहिष्कार गर्नेमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी तथा आहुति महासचिव रहेको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी छन् ।

यसैगरी मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) सहित विप्लव समूहबाटै अलग भएर बनेको धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत पनि निर्वाचन बहिष्कारको नीतिमा अघि बढेको छ । निर्वाचन आयोगलेसमेत प्रतिनिधि र प्रदेशसभा निर्वाचन बिथोल्ने खालको कुनै पनि गतिविधि हुन नदिने गरी सुरक्षा रणनीतिमा आवश्यक व्यवस्था मिलाउन सबै सुरक्षा अंगलाई आग्रह गरिसकेको छ ।

नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राइले पनि निर्वाचन बिथोल्न खोज्ने जुनसुकै समूह वा व्यक्ति भएपनि त्यसलाई कानुन बमोजिम कारबाही गरिने बताएका छन् । ‘निर्वाचनमा खटिएका कर्मचारी, मतदातालगायतको सुरक्षा गर्ने जिम्मेवारी सुरक्षा निकायको हो कानुनभन्दा बाहिर जाने छुट कसैलाई पनि छैन’, डिआइजी राइले भने ।

 

प्रतिक्रिया