२०८३, २७ कार्तिक बिहीबार
×

भूपू गोर्खा सैनिकहरुका मागबारे ब्रिटिश रक्षा मन्त्रालयमा वार्ता

384936 Shares

लन्डन  —  ब्रिटिश सेनाबाट सेवानिवृत्त गोर्खा सैनिकहरुको समान पेन्सन तथा सुविधा लगायतका माग हरूबारे छलफल गर्न बिहीबार ब्रिटिश रक्षा मन्त्रालयमा औपचारिक वार्ता भएको छ।

गोर्खा प्रतिनिधिहरुको उपस्थितिमा बेलायत तथा  नेपाल सरकारबीच शुरु भएको वार्तामा ब्रिटिश पक्षको नेतृत्व

ब्रिटिश पक्षको नेतृत्व रक्षा तथा भेट्रान्स सहायकमन्त्री डा. एन्ड्रु मोरिसनले गरेका थिए। तथा नेपाली पक्षको नेतृत्व बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले गरेका थिए।

झन्डै २ घण्टा चलेको वार्ताको शुरुमा नेपाल सरकारको तर्फबाट राजदूत ज्ञानचन्द्र आचार्यले सन् १९९७ भन्दा पहिले सेवानिवृत्त भएका भूतपूर्व गोर्खा सैनिकहरुको ब्रिटिश सैनिकसरह समान पेन्सन पाउनु पर्ने, पूरक पेन्सन, अङ्गभङ्ग भएका मृतकहरुको परिवारका लागि एकमुष्ट भुक्तानी, कल्याणकारी कार्यहरु लगायत समाधान गर्न बाँकी रहेका मागहरुबारे स्पष्ट परेका थिए।

भेट्रान्स राज्यमन्त्री डा. मोरिसनले हाल बेलायतमा बसोबास गरिरहेका भूतपूर्व गोर्खा सैनिकहरुको कल्याण (वेलफेयर) मा मात्रै वार्ता केन्द्रित गर्न अनुरोध गरेपछि राजदूत आचार्यले भूतपूर्व गोर्खा सैनिकहरुको समान पेन्सन र विभेदमा वार्ता केन्द्रित हुनुपर्ने अडान लिएका थिए ।

प्रत्युत्तरमा बेलायती मन्त्री मोरिसनले पेन्सनको सवाल ‘जटिल’ भएको तर आफू मन्त्रालयमा आएको तीन दिनमात्र भएकाले यसबारे थप बुझेर अर्को वार्तामा छलफल गर्ने आश्वासन दिएको भूतपूर्व गोर्खाहरुका तर्फबाट वार्तामा सहभागी प्रवक्ता तथा मध्यस्थकर्ता  मेजर रिटायर्ड जुदबहादुर गुरुङले बताए  ।

जीएनएनसंग कुरा गर्दै बेलायतस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख, श्रीमती रोशन खनाल, ले वार्ताको प्राविधिक पक्षको बारेमा छलफल गर्न यही नोभेम्बर महिनाको तेश्रो वा चौथो साता अर्को बैठक बस्न सक्ने बताइन्।  उता गोर्खा अभियन्ताहरुले चाहिं  मार्च २०२३ सम्म निर्णायक वार्ता हुनु पर्ने  माग राख्दै आएका छन्   ।

वार्तामा नेपाल सरकारका तर्फबाट राजदूत आचार्य सहित नेपाली राजदूतावासकी उपनियोग प्रमुख श्रीमती रोशन खनाल, सैनिक सहचारी महासेनानी रत्न बहादुर गोदार तथा भूतपूर्व गोर्खाहरुको तर्फबाट श्रीमती पुष्पा राणा घले, धनबहादुर गुरुङ्ग तथा बेलायत सरकारको तर्फबाट रक्षा राज्यमन्त्रीसहित रक्षा मन्त्रालय एवं अन्तर्गतका बिभिन्न पदाधिकारीहरु सहभागी भएको दूतावासले जनाएको छ।

उच्चस्तरीय वार्ता समिति गठन गर्न माग गर्दै गोर्खा अभियन्ताहरु ज्ञानराज राई, पुष्प राणा घले तथा धन गुरुङले गत अगष्ट २०२१ मा ब्रिटिश रक्षा मन्त्रालय नजिकै १३ दिन लामो भोक हडताल गरे पछि ब्रिटिश सरकारले उनीहरुका माग बारे छलफल गर्न एक उच्चस्तरीय वार्ता समिति गठन गर्न सहमति जनाएको थियो।

यसै बीच बिहीबार बिहान मध्य लन्डनमा सैयौं भूतपूर्व गोर्खा सैनिक तथा तिनका परिवारजनहरुले शान्तिपूर्ण प्रदर्शन गरेका थिए। उनीहरुले गोर्खाहरुलाई समान पेन्सन देउ जस्ता नारा लेखिएका प्लेकार्डहरु बोकेका थिए।

 

(फोटो सौजन्य: एज्रा श्रेष्ठ)

 

 

प्रतिक्रिया