२०८३, २८ कार्तिक शुक्रबार
×

राष्ट्रपति विधादेवी भण्डारीद्वारा नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार

395114 Shares

काठमाडौं- राष्ट्रति विद्यादेवी भण्डारीले अन्ततः नागरिकता विधेयक प्रमाणीकरण गरिनन्।

संसदको दुवै सदनले दोस्रोपटक पारित गरेको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेको हो। राष्ट्रपपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले विधेयक प्रमाणीकरण नभएको पुष्टि गरे।प्रतिनिधिसभा र राष्ट्रियसभाबाट दोहो¥याएर पारित भएको विधेयक संसद सचिवालयले २० भदौमा प्रमाणीकरणका लागि शीतल निवास पठाएको थियो।

संवैधानिक व्यवस्थाअनुसार दोस्रोपटक संसदबाट पारित भएर पुगेको विधेयक राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने हुन्छ। राष्ट्रपति कार्यालयमा विधेयक दर्ता भएको मंगलबार १५ औं दिन थियो। त्यस हिसाबले राष्ट्रपतिले मंगलबार राति १२ बजेसम्म विधेयक प्रमाणीकरण गर्नुपर्ने थियो। तर, समय गुज्रिइसके पनि भण्डारीले विधेयक प्रमाणीकरण गरिनन्।

विधेयक प्रमाणीकरणसम्बन्धी संविधानको धारा ११३ मा पनि दोस्रोपटक पुगेको विधेयक राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने उल्लेख छ।

‘राष्ट्रपतिले कुनै विधेयक सन्देशसहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गरी त्यस्तो विधेयक प्रस्तुत रूपमा वा संशोधनसहित पारित गरी पुनः पेस गरेमा त्यसरी पेस भएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नेछ,’ धारा ११३ को उपधारा ४ मा भनिएको छ।

पहिलोपटक संसदबाट पारित भएको विधेयक राष्ट्रपति भण्डारीले १५ बुँदे सन्देशसहित फिर्ता पठाएकी थिइन्। तर, प्रतिनिधिसभा र राष्ट्रियसभाले विधेयकलाई हुबहु पारित गरेको थियो। आफूले पठाएको सन्देशलाई सत्ता गठबन्धनले बहुमतको ‘दम्भ’ ले किनारा गरेको भन्दै उनी रूष्ट बनेकी थिइन्। विधेयकसँगै आफूले पठाएको सन्देशमाथि चासो नदिएर सत्ता गठबन्धनले आफ्नो ‘अवमूल्यन’ गरेको गुनासो भण्डारीले राजनीतिक दलहरूसँगको भेटका क्रममा पोखेकी थिइन्।

यसबीचमा अरू विधेयक प्रमाणीकरण गरे पनि नागरिकता विधेयकलाई ‘होल्ड’ गरेपछि भण्डारीले प्रमाणीकरण नगर्ने आशंका उब्जिएको थियो। संघीय गणतन्त्रात्मक व्यवस्था कार्यान्वयनमा आएयता संसदको दुवै सदनले पारित गरेको विधेयक राष्ट्रपतिबाट पारित नभएको यो पहिलोपटक हो। संविधानअनुसार राष्ट्रपति ‘आलंकारिक’ हुने भएकाले कार्यपालिका र व्यवस्थापिकाले गरेको निर्णय स्वीकार गर्नुपर्ने हुन्छ। विधेयक प्रमाणीकरणका लागि मंगलबार राति १२ बजेसम्म कुर्ने गठबन्धनका नेताहरूले बताएका थिए।

त्यस अवधिभित्र विधेयक प्रमाणीकरण नभए बुधबार गठबन्धनको बैठक बसेर आगामी कदमबारे निर्णय गर्ने गठबन्धनका नेताहरूले बताएका छन्। जसपा अध्यक्ष उपेन्द्र यादवले नागरिकता विधेयक प्रमाणीकरण नभए त्यो असंवैधानिक कदम हुने र त्यसका विरूद्ध अदालतसम्म जाने निर्णय हुनसक्ने आयोमेलसँग भनेका थिए। त्यस्तै संविधानविद्हरूले पनि राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरे असंवैधानिक कदम ठहरिने प्रतिक्रिया दिएका थिए।

संविधानविद् एवं वरिष्ठ अधिवक्ता विपिन अधिकारीले दोस्रोपटक पुगेको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नुको विकल्प नरहेको बताएका थिए। संविधानले दोस्रोपटक पुगेको विधेयक फिर्ता गर्ने सुविधा राष्ट्रपतिलाई नदिएको र त्यसो भए त्यो संविधानको प्रष्ट उल्लंघन भएको ठहर हुने बताएका छन्।

अर्का संविधानविद् एवं वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले पनि विधेयक प्रमाणीकरण नभए असंवैधानिक कदम ठहर हुने बताएका छन्। विधेयक प्रमाणीकरण नभए संविधानमा हुँदै नभएको ‘भिटो पावर’ को अधिकार राष्ट्रपतिले प्रयोग गरेको ठहर हुने बताएका थिए।

प्रतिक्रिया