काठमाडौँ, ४ भदौ । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको निधन भएको छ।
७५ वर्षका नेता गिरिको उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा शनिबार राति ९ः३६ मा निधन भएको अस्पताल स्रोतले जनाएको छ।
उनको विगत तीन सातादेखि मेडिसिटीमा उपचार हुँदै आएको थियो । परिवारको आग्रहमा शुक्रबार उनलाई भेन्टिलेटरबाट निकालेर आइसियूमा राखिएको थियो ।
गिरी नेपाली कांग्रेसभित्रका बाैद्धिक नेताका रुपमा परिचित थिए। क्यान्सर र निमोनियाकाे जटिलताका कारण उनकाे निधन भएकाे हाे। गिरी २०१७ सालबाट नै नेपाली राजनीतिमा लाग्नुभएको थियो । बुवा मित्रलाल गिरी कांग्रेसको राजनीतिमा सक्रिय भएको हुनाले गिरी राजनीति सानै उमेरबाट प्रारम्भ भयो ।
राजनीतिक संघर्षका क्रममा २०२५ सालमा १८ महिना र २०४२ सालमा झण्डै एक वर्ष समेत गरी हालसम्म कुल चार वर्ष उनले जेल जीवन बिताइसकेका छन् ।
उनी २०२४ सालमा नेपाल छात्र सङ्घ (बनारस)को निर्वाचित उपाध्यक्ष थिए ।
२०५१ सालको संसदीय निर्वाचनमा सिरहा क्षेत्र नं. ५ बाट निर्वाचित गिरीले २०५६ को संसदीय निर्वाचनमा समेत भाग लिएका थिए । व्यवस्थापिका संसद्मा उनले नेपाली काङ्ग्रेस, प्रजातान्त्रिकका तर्फबाट प्रतिनिधित्व गरेका थिए ।
भारत, जवाहरलाल नेहरु विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रका स्नातकोत्तर गिरी अध्ययनमा विशेष रुचि राख्छन् ।