लण्डन। अन्तर्रास्ट्रिय नेपाली कलाकार समाज (इनास) यूकेले कलाकार भेटघाट , प्रमाण पत्र वितरण र सांगीतिक कार्यक्रमको आयोजना गरेको छ।
इनास यूकेद्वारा लण्डनको प्लमस्टेडमा आइतबार आयोजित उक्त कार्यक्रममा इनास यूकेका अध्यक्ष बिनोद चिपालुले आगामी वर्ष एक सांगीतिक महोत्सबको आयोजना गर्ने घोषणा गर्नु भएको छ । “म्युजिक फेस्टिवल २०२३” नाम दिईएको उक्त फेस्टिबलमा यूकेमा बनेका म्युजीक भिडियोहरु प्रदर्शन कार्यक्रम रहने छ।

चिपालुको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा उक्त घोषणा गर्दै इनास यूकेको बार्षिक कार्यक्रमका बिषयमा समेत खाका प्रस्तुत गरिएको थियो । चिपालुको नेतृत्वको टिम निर्वाचित भएपछी आयोजित पहिलो यस प्रकारको भेटघाट कार्यक्रममा इनास यूके कार्यसमिति र साधारण सदस्यहरुलाई समेत प्रमाण पत्र वितरण गरिएको थियो। साथै नेपालबाट आउनु भएकी भोइस अफ नेपालकी उपविजेता तारा श्रीश मगरलाई समेत सम्मान गरिएको थियो।
कार्यक्रममा इनास ग्लोबलका संरक्षक बरिष्ठ गायीका मिरा रानाले इनास यूकेले गरेका कार्यहरुको प्रसंशा गर्दै प्रबासमा पनि गीत, संगीत, कला र कलाकारहरुको प्रबर्धनमा लागिरहन शुभकामना ब्यक्त गर्नु भयो। कार्यक्रममा इनास अमेरिकाका सल्लाहकार उदय राणा, इनास ग्लोबलका उपाध्यक्ष मनिष श्रेष्ठ, युरोप उपसंयोजक संजयभक्त कंडेल, इनास यूके संस्थापक अध्यक्ष सनम बैराग, गायिका शर्मिला बर्देवा , प्लमस्टेडका काउन्सिलर जित रानाभाट , बुद्ध फाउण्डेशन यूकेका अध्यक्ष दिपक श्रेष्ठ, साहित्य चौतारीका बासु शर्मा , नेपाल पत्रकार महासंघ यूकेका पूर्व अध्यक्ष बिपिन निरौलाले प्रमाणपत्र वितरण गर्नु भएको थियो ।

इनास यूकेका महासचिब सर्बेन्द्र अधिकारीले संचालन गर्नुभएको पहिलो सत्रको कार्यक्रममा इनास युकेका उपाध्यक्ष दिपक थापाले स्वागत मन्तब्य राख्नु भएको थियो भने इनास युकेका सचिब सुजन पराजुली र कार्यकारी सदस्य दीप गिरीले इनास युके र कलाकारहरुको परिचय पेश गर्नु भएको थियो। उक्त अवसरमा इनास ग्लोबल प्रतिनिधि गुणदेब घिमिरे , उपाध्यक्ष प्रसुना कंडेल , इनास युके का कोषाध्यक्ष लालमणि भट्टराई यति नेपाली एसोशिएसन यूकेका महासचिब डा मुकुन्द बास्तोला, जेन्स यूकेका अध्यक्ष तिलक भट्टराई लगायत स्थानीय संघ-संस्थाका प्रतिनिधिहरु, र कलाकारहरुको उपस्थिति रहेको थियो।
दोस्रो चरणमा इनास यूकेका कलाकारहरुले विभिन्न कर्णप्रिय गीतहरुको प्रस्तुति गर्दै सबैलाई मन्त्रमुग्ध बनाएका थिए।