२०८३, ७ भाद्र आईतवार
×

ट्रेन्डिङ

‘लण्डन तीज’मा लण्डनको परिवेशसँग जोडिँदै नेपाली मौलिकता

0 Shares
Spread the love

लण्डन । नेपाली कला, भाषा, संस्कार र संस्कृतिलाई प्रवासको परिवेशसँग जोड्दै नयाँ सांगीतिक प्रस्तुति ‘लण्डन तीज’ सार्वजनिक भएको छ। तीजको मौलिक सांस्कृतिक भाव, नेपालीपन र लण्डनको प्रवासी जीवनशैलीलाई कलात्मक रूपमा प्रस्तुत गरिएको यो गीतले नेपाली मौलिकतालाई नयाँ पुस्तासम्म पुर्‍याउने प्रयास गरेको छ।

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) यूकेको पहलमा तयार भएको ‘लण्डन तीज’मा सञ्जय कँडेलको शब्द तथा निर्देशन र सबिना श्रेष्ठको प्रभावशाली अभिनय रहेको छ। लण्डनमा रहेर नेपाली कला, संस्कृति र सिर्जनालाई निरन्तर प्रवर्द्धन गर्दै आएका कँडेलले तीजको परम्परागत भावनालाई प्रवासी नेपाली जीवनसँग जोड्दै प्रस्तुतिमा नयाँपन दिने प्रयास गरेका छन्।

विशेषगरी, सञ्जय कँडेलको लेखन तथा निर्देशन यस प्रस्तुतिको प्रमुख आकर्षण बनेको छ। तीजलाई केवल मनोरञ्जनको विषयका रूपमा सीमित नगरी यसको सामाजिक, सांस्कृतिक र भावनात्मक पक्षलाई लण्डनको परिवेशमा उतार्ने उनको सिर्जनात्मक दृष्टिकोण प्रशंसनीय देखिन्छ। प्रवासमा रहेर पनि आफ्नो भाषा, संस्कृति र मौलिक पहिचानलाई कलामार्फत जीवन्त राख्ने उनको प्रयासले नेपाली सिर्जनशीलताको बलियो उदाहरण प्रस्तुत गरेको छ।

त्यस्तै, भिडियोमा सबिना श्रेष्ठले मुख्य भूमिकामा सशक्त उपस्थिति जनाएकी छिन्। मोडल तथा कलाकारका रूपमा आफ्नो छुट्टै पहिचान बनाउँदै आएकी श्रेष्ठले यस भिडियोमा तीजको सांस्कृतिक भावना, नेपाली नारीको संवेदना र प्रवासी जीवनको परिवेशलाई स्वाभाविक अभिनयमार्फत प्रस्तुत गरेकी छन्। उनको सहज, आकर्षक र भावपूर्ण अभिनयले भिडियोको कथ्यलाई अझ जीवन्त बनाएको छ।

इनास यूकेकी उपाध्यक्ष तथा नेपाल प्रेस युनियन युरोपकी उपाध्यक्षसमेत रहेकी श्रेष्ठ यसअघि पनि विभिन्न नेपाली गीतका म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन्। सामाजिक तथा सांस्कृतिक गतिविधिमा समेत सक्रिय श्रेष्ठको ‘लण्डन तीज’मा रहेको भूमिकाले उनको कलात्मक यात्रालाई थप अर्थपूर्ण बनाएको छ।

‘लण्डन तीज’मा अञ्जना रिमालको स्वर र सुनिल राईको संगीत रहेको छ। बिपिन ज्ञवालीले छायांकन गरेको भिडियोमा सञ्जय कँडेल, मञ्जु शाह, कृति श्रेष्ठ र निशा श्रेष्ठको समेत अभिनय रहेको छ।

लण्डनमा छायांकन गरिएको भिडियोले तीजको सांस्कृतिक माहोलसँगै प्रवासमा नेपाली समुदायले आफ्नो परम्परा र पहिचानलाई कसरी आत्मसात् गरिरहेको छ भन्ने पक्षलाई पनि उजागर गरेको छ। नेपाली चाडपर्व र संस्कृतिलाई आधुनिक प्रस्तुति शैलीमार्फत अन्तर्राष्ट्रिय परिवेशमा पुर्‍याउने प्रयासका रूपमा यसलाई लिन सकिन्छ।

ग्लोबल पत्र मिडिया हाउसले बजारमा ल्याएको ‘लण्डन तीज’ ‘ग्लोबल पत्र’ को आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

प्रवासमा नेपाली भाषा, कला र संस्कृतिको संरक्षण तथा पुस्तान्तरण चुनौतीपूर्ण बन्दै गएको समयमा ‘लण्डन तीज’ जस्ता सिर्जनाले नेपाली मौलिकतालाई नयाँ पुस्तासँग जोड्ने महत्वपूर्ण भूमिका खेल्न सक्छन्। कँडेलको सिर्जनात्मक निर्देशन र श्रेष्ठको प्रभावशाली अभिनयले प्रस्तुतिलाई थप आकर्षक बनाएको छ भने गीत, संगीत, छायांकन र अभिनयको संयोजनले लण्डनमा नेपाली सांस्कृतिक सिर्जनाको सम्भावनालाई समेत उजागर गरेको छ।

प्रतिक्रिया