२०८३, २९ कार्तिक शनिबार
×

बेलायतको स्थानीय निर्वाचनमा नेपाली मूलका पाँच उम्मेद्वार विजयी

70691 Shares

लण्डन । बेलायतमा सम्पन्न स्थानीय निर्वाचनको परिणामा पाँच नेपाली मूलका उम्मेद्वारहरुले विजयी हासिल गरेका छन् ।

निर्वाचित हुने पाँचमध्ये तीन जना काउन्सिलरमा पुनःनिर्वाचित भएका छन् भने दुई जना पहिलोपटक काउन्सिलर निर्वाचित भएका हुन् ।

निर्वाचनमा बेलायतभरमा विभिन्न स्थानीय काउन्सिलबाट १० जना नेपालीमूलका उम्मेदवार बनेका थिए।

त्यसमध्ये लक्ष्मण गुरुङ, विष्णुबहादुर गुरुङ, जित रानाभाट, कमल गुरुङ र डाक्टर जगन्नाथ शर्मा निर्वाचित बनेका हुन्।

त्यस्तै, निर्वाचितमध्ये तीन जना लेबर पार्टीका उम्मेदवार छन् भने अरु दुई सत्तारुढ कञ्जरभेटिभ पार्टीका छन् ।

पूर्वमेयर गुरुङको ह्याट्रिक

लण्डनको हन्सलो बरोबाट पूर्वमेयर विष्णुबहादुर गुरुङ तेस्रोपटक काउन्सिलर निर्वाचित बनेका छन् ।

लेबर पार्टीबाट उम्मेदवार बनेका गुरुङले १ हजार ३७ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । पराजित सत्तारुढ कन्जरभेटिभ उम्मेदवारले विजयी गुरुङले भन्दा २ सय ६८ मत कम अर्थात् ७ सय ६९ मत मात्रै पाएका छन् ।

सन् २०१४ मा हन्सलोको हानवर्थ वडाबाट पहिलोपटक काउन्सिलर निर्वाचित भूतपूर्व गोर्खा गुरुङ सन् २०१८ मा दोस्रोपटक निर्वाचित भएका थिए। उनले डेपुटी मेयर र मेयरका रूपमा समेत एक/एक कार्यकाल काम गरिसकेका छन्।

पूर्वउपमेयर लक्ष्य गुरुङ पुनः निर्वाचित

लण्डनको बार्नेट काउन्सिलका पूर्वउपमेयर लक्ष्यबहादुर गुरुङ पुनः काउन्सिलरमा निर्वाचित भएका छन् ।
सत्तारुढ कन्जरभेटिभ पार्टीबाट बार्नेटको एजवेरवरी वडामा उम्मेदवार बनेका गुरुङ १ हजार ६ सय ९१ मत प्राप्त गरी विजयी भएका हुन् । दुई ठाउँका लागि कुल पाँच जनाको उम्मेदवारी रहेको उक्त वडामा निकै कडा प्रतिस्पर्धाबीच गुरुङ विजयी भए ।

उनीसँग पराजित उम्मेदवारसँग उनको मात्र ४२ मतको फरक छ। भूतपूर्व गोर्खा गुरुङ यसअघि सोही क्षेत्रको उपमेयर भइसकेका छन्।

रोयल बरोमा नेपालीमूलबाट पहिलोपटक निर्वाचित

बेलायतको रोयल बरोबाट पहिलो पटक नेपालीमूलका उम्मेदवार काउन्सिलरमा निर्वाचित भएका छन्।

रोयल बरो अफ ग्रीनबीचको प्लमस्टिड एन्ड ग्लिन्डन वडामा लेबर पार्टीबाट उम्मेदवार बनेका रानाभाट विजयी भएका हुन्।

उक्त वडामा तीन काउन्सिलरका लागि १० उम्मेदवारबीच भएको प्रतिस्पर्धामा रानाभाटसँगै अन्य दुई वना पनि लेबर पार्टीकै उम्मेदवार विजयी भएका छन्।

मत परिणामअनुसार रानाभाटले २ हजार ३ सय १९ मत प्राप्त गरे।

पराजित उम्मेदवारले भने ५ सय मत पनि कटाएका छैनन्। बेलायतमा पछिल्लो केही वर्षदेखि नै विभिन्न स्थानीय तहमा नेपालीमूलका उम्मेदवारहरू निर्वाचित हुँदै आएका छन्। तर, लन्डनभित्रका प्रमुख चार रोयल बरोमा नेपालीमूलबाट निर्वाचित हुने रानाभाट नै पहिलो बनेका छन्।

बरोमा पुनः निर्वाचित डा. शर्मा काउन्टी काउन्सिलमा पराजित

इंग्ल्यान्डस्थित नर्थ योर्कसायर काउन्टी काउन्सिलमा नेपालीमूलबाट पहिलोपटक उठेका डा. जगन्नाथ शर्मा झिनो मतले पराजित भएका छन्। कन्जरभेटिभ पार्टीका उनी ८ मतले मात्र पराजित भए। उनले ५ सय ५१ मत प्राप्त गरेका थिए। ग्रीन पार्टीका केभिन फोस्टर ५ सय ५९ मतसहित विजयी भएका छन्।

कोलबर्न टाउनका पूर्वमेयर एवं काउन्सिलर शर्मा दुईतिहाइ मत पाएर कोलबर्न एन्ड हिप्सवेल काउन्सिलर भने निर्वाचित भए। बेलायती अर्थमन्त्री ऋषि सुनाकको निर्वाचन क्षेत्र रिचमण्डसायरमा उनी कन्जरभेटिभ पार्टीको उपाध्यक्ष छन्। शर्माको चुनावी अभियानमा अर्थमन्त्री सुनाकले प्रचार–प्रचारमा सहभागी भएर हौसला प्रदान गरेका थिए।

नर्थ योर्कसायर इंग्ल्यान्डको ठूलो काउन्टी मानिन्छ। शर्मा काउन्टी काउन्सिलरमा उठ्ने नेपालीमूलबाट पहिलो थिए। अन्य नेपाली काउन्टीभन्दा तल्लो तह बरो काउन्सिलसम्म मात्र पुगेका छन्।

पूर्वगोर्खा गुरुङ दोब्बर मतसहित निर्वाचित

लन्डनकै बार्नेट काउन्सिलको बन्र्टओक वडाबाट पूर्वगोर्खा कमलबहादुर गुरुङ पहिलोपटक काउन्सिलर निर्वाचित भएका छन्। लेबर पार्टीका उम्मेदवार उनले २ हजार तीन सय ७७ मत प्राप्त गर्दै विजय हासिल गरे। सो वडाको अर्को काउन्सिलरमा २ हजार ५ सय ४५ मतसहित लेबर पार्टीकै उम्मेदवार विजयी भए। पराजित कन्जरभेटिभ पार्टीका दुई उम्मेदवारहरूले भने आधा थोरै ९ सय ६२ र ८ सय ६१ मत मात्रै प्राप्त गरे।

 

प्रतिक्रिया