काठमाडौँ — गैर आवासीय नेपाली संघमा डेलिगेट्स छनोटमा चरम अनियमितता भएको छर्लंग भए पछि निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त लिलामणि पौडेलले आफ्नो पदबाट राजीनामा दिएका छन्।
विश्वस्त सूत्रका अनुसार अधिवक्ता पौडेलले कामचलाउ अध्यक्ष कुमार पन्तलाई केन्द्रले उपलब्ध गराएको मतदाता नामावली विरुद्ध निकै उजुरी परेकाले आफुले सोही विवादित नामावलीको आधारमा चुनाव गराउन नसक्ने जानकारी दिएका थिए। नेपाल बार एसोसियसनका महासचिव पनि रहेका पौडेलले संघमा सुनियोजित रुपमा धांधली गर्ने योजनालाइ कार्यान्वयन गर्न आफुलाई माध्यम बनाउन लागिएको समितिकै सदस्यहरुलाई बताएका थिए।
पन्त नेतृत्वको कार्यसमितिले विना कुनै सहमति जबर्जस्ती चुनावको कार्यक्रमलाई अगाडी बढाउन दबाब दिए पछि निर्वाचन समितिका बहुसंख्यक सदस्यहरुले राजिनामा गर्न लागेको विश्वस्त सूत्रले जानकारी दिएको छ। निर्वाचन आयुक्त डा. गणेश गुरुङले पनि आफ़्नो पदबाट राजीनामा दिएका छन्।
संघको विधान अनुसार निर्वाचन हुनु भन्दा कम्तीमा ३ महिना अगावै निर्वाचन समिति गठन गरिनु पर्छ। त्यसैले अब डिसेम्बर २६ र २७ मा गराउने भनिएको निर्वाचन गराउन कुनै पनि वैधानिक आधार बांकी नरहेको निर्वाचन समितिका एक सदस्यले बताए।
भर्खरै प्राप्त समाचार अनुसार निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिहरुको अन्तिम नामावली प्रकाशित गर्न थप समय आवश्यक भएको भन्दै उम्मेदवारी मनोनयन दर्ता मिति १६ डिसेम्बर बिहान १० बजे सम्मको लागि सारेको छ। यस अघि उम्मेदवारी मनोनयन गर्न भोलि शनिबार, ११ डिसेम्बर तोकिएको थियो।
यसै साता संघका सात जना सल्लाहकारहरुले डेलिगेट्स समस्या समाधान गरेर मात्रै निर्वाचन कार्यक्रम अगाडी बढाउन अध्यक्ष पन्तलाई सुझाव दिएका थिए।