२०८३, २७ बैशाख आईतवार
×

ट्रेन्डिङ

खोप सहयोग गर्न अन्तर्राष्ट्रिय समूदायलाई आह्वान

1683 Shares
Spread the love

काठमाडौं। नेपालले कोरोनाविरुद्धको खोप सहयोगका लागि अन्तर्राष्ट्रिय समूदायलाई आह्वान गरेको छ। मन्त्रिपरिषदको सोमबार बसेको बैठकले खोप उत्पादक मुलुक तथा अन्य मित्र राष्ट्रहरुलाई अनुदान वा खरिदमा खोय सहयोग गर्न आह्वान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। सिंहदरबारमा बसेको बैठकपछि उनले भने, ‘अनुदान वा खरिदबाट थप खोप उपलब्ध गराउन खोप उत्पादक तथा अन्य मित्र राष्ट्रहरूलाई आह्वान गर्दछ।’

सरकारले खोप अनुदान दिने तथा खरिदमा उपलब्ध गराउने मुलुकहरुलाई धन्यावादसमेत दिएको छ। हालसम्म नेपालमा कोभ्याक्समार्फत अमेरिकाले १५ लाख डोज जोन्सन एण्ड जोन्सनको खोप अनुदान दिएको छ। यस्तै उत्तरी छिमेकी मुलुकले १८ लाख डोज खोज अनुदान दिइसकेको छ भने थप १६ लाख डोज अनुदान सहयोग आउनेक्रममा छ। नेपालले चीनबाट खरिद गर्ने ४० लाख डोज मध्येको १० लाख डोज पनि आइसकेको छ।

यस्तै दक्षिणी छिमेकी भारतले नेपाललाई १० लाख डोज अनुदान दिएको छ भने खरिद गरेको पनि १० लाख डोज आएको छ। खरिद गरेको आउनुपर्ने बाँकी डोज भने भारतले दिएको छैन। सोमबारमात्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिन गरेको फोनमा खोप सप्लाई छिटै गरिने बचन दिएका छन्। यस्तै नेपालमा कोभ्याक्समार्फत थप साढे ३ लाख डोज खोप पनि आएको छ।

यस्तै बेलायत र जापनले पनि खोप सहयोग गर्ने घोषणा गरेका छन्। तर, कहिले कति आउँछ भन्ने यकिन भने भइसकेको छैन। हाल नेपालमा भेरोसेल र जोन्सन एण्ड जोन्सनको खोप अभियान चलिरहेको छ।

प्रतिक्रिया