काठमाडौं । नेपाल पत्रकार महासंघको नवनिर्वाचित केन्द्रीय कार्यसमितिलाई पदभार ग्रहण गरेको छ । पत्रकार महासंघको निवर्तमान कार्यसमितिले आइतबार केन्द्रीय कार्यालयमा ‘पदभार हस्तान्तरण’ समारोह आयोजना गरेर नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरण गरेको हो ।
पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष विपुल पोखरेलले महासंघ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि स्थापित संस्था भएको स्मरण गर्दै लोकतन्त्र, प्रेस स्वतन्त्रता नागरिक अधिकार र श्रमजीवी पत्रकारको हकहितका लागि प्रतिवद्ध रहने बताए ।
निवर्तमान अध्यक्ष गोविन्द आचार्यले महासंघको इतिहासमा हरेक कार्यसमितिको भूमिका महत्वपूर्ण रहेको भन्दै आफ्नो कार्यकालबाट महासंघको नेतृत्व चयन प्रत्यक्ष निर्वाचन प्रणालीबाट हुने अभ्यास सुरु गरिएको बताए । उनले महासंघलाई थप समावेशी बनाउने अवसर प्राप्त भएको पनि बताए ।
समारोहका प्रमुख अतिथि सभामुख अग्निप्रसाद सापकोटाले २६ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई कार्यसफलताको शुभकामना दिए । उनले महासंघले पूर्ण लोकतन्त्रको अभ्यास गरेको भन्दै लोकतन्त्रका लागि भएका हरेक आन्दोलनमा महासंघले प्रमुख भूमिका निर्वाह गर्नुपर्ने बताए ।
समारोहमा पत्रकार महासंघका पूर्वसभापतिहरु डा. सुरेश आचार्य, तारानाथ दाहाल, धर्मेन्द्र झा, पूर्वअध्यक्षहरु शिव गाँउले र डा. महेन्द्र विष्टले शुभकामना मन्तव्य राखेका थिए ।
यस्तै नेपाल पत्रकार महासंघको नवनिर्वाचित पदाधिकारीलाई सन्चारकर्मी तथा एनआरएन अभियान्ता विनय अधिकारीले बधाई तथा शुभकामना ज्ञापन गरेका छन् । आज पत्रकार महासंघको कार्यलयमा आयोजित कार्यक्रम लगत्तै उनले शुभकामना ज्ञापन गरेका हुन् ।
