नयाँ दिल्ली- कोरोना संक्रमण बढेसगै भारतको नयाँ दिल्लीमा बिनामास्क हिँड्ने व्यक्तिहरुलाई २ हजारसम्म जरिवाना गरिने भएको छ । यसअघि पाँच सय रुपैयाँ लिने गरिएको थियो ।
दिल्लीमा कोरोनाको स्थितिमा चर्चा गर्न दिल्लीको मुख्यमन्त्री अरविन्द केजरीवालाले बिहीबार एक सर्वदलीय छलफल बोलाएका थिए ।
उनले छलफलमा आएका सुझावहरुलाई ढिला नगरी कार्यान्वयनमा लैजाने बताएका छन्। छलफलपछि पत्रकारसँग कुरा गर्दै उनले दिल्ली सरकारको तयारी र अन्य निर्णयहरु सुनाएका थिए ।
उनले मास्क नलागाउने क्रम बढेको र कोरोना फैलदै गएको भन्दै मास्क नलगाउनेहरुलाई जनही २ हजारको दरले जरिवाना गर्ने निर्णय गरेको बताए ।
केजरीवालले छठ पुजा गर्दा कोरोनाको ध्यान दिन र सार्वजनिक रुपमा भेला हुँदा ध्यान दिन आग्रह गरेका छन् ।
सबै जना एकैपटक पोखरी वा पानीमा रहेर छठ पुजा गर्दा कोरोना फैलन सक्नेतर्फ ध्यान दिने उनले भनेका छन् । उनले दिल्लीमा अहिले बेडको संख्या साढे सात हजार रहेको छ। यसबाहेक दिल्लीमा साढे चार हजार आइसियु बेड पनि उपलब्ध रहेको उनले जानकारी दिए ।
दिल्लीका अस्पतालमा ८० प्रतिशत आइसियु बेड कोरोनाका लागि रिजर्भ गरिएको उनले बताए ।
केन्द्र सरकारसँग मिलेर १४ हजार बेडको बन्दोबस्त गरिरहेको बताए। अब परीक्षण पनि दोब्बर हुने उनले जानकारी दिए। उनले कोरोनामा खटिने सबै स्वास्थ्यकर्मीहरुको समेत प्रशंसा गरे।