२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

धरौटीमा रिहा भएलगत्तै प्रकाण्ड फेरि पक्राउ, भोजपुरबाट दाङ लगियो

2183 Shares
Spread the love

भोजपुर– नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई बुधबार जिल्ला अदालत भोजपुरले धरौटीमा रिहा गरेलगतै पक्राउ गरेको छ । धरौटीमा रिहा गरिएपश्चात् पुनः पक्राउ गरिएका उनलाई बुधबारनै दाङ लगिएको छ ।

ज्यान मार्ने उद्योग, विष्फोटक पदार्थ र आगजनी गरेको आरोपमा मुद्दा खेपिरहेका ‘प्रकाण्ड’ लाई ६० हजार धरौटीमा रिहा गरिएलगतै पुनः पक्राउ गरी दाङ लगिएको हो ।  भोजपुरमा प्रकाण्डलाई टेम्के मैयुङ गाउँपालिका–६, कोट गुम्बामा शेरधन राई चढेको गाडीमा बम विष्फोट गराइएको आरोपमा ज्यान मार्ने लगायतका मुद्दा दायर भएको छ ।

उनलाई राई चढेको गाडीमा बम विष्फोट गराएको, षडानन्द नगरपालिका १३ तीनतले भिरथाप्लामा भएको बम विष्फोट गराएको र साल्पासिलिछो गाउँपालिका–२, कुलुङको सहकारी टोलमा बाम गठबन्धनको चुनावी सभामा बम विष्फोट गराएको भन्दै मुद्धा दायर भएको छ । ती तीनवटै मुद्धामा क्रमशः २५, २५ र १० हजार गरी ६० हजार नगद धरौटीमा रिहा गरिएको जिल्ला अदालत भोजपुरका सुचना अधिकारी मणिराम पोखरेलले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख डिएसपी केशब कुमार थेबेले प्रकाण्डलाई बुधबार अदालतबाट रिहापछि अदालत परिसरबाटै पुनः पक्राउ गरी दाङ लगिएको  बताएका छन् । दाङ केका लागिएको भन्ने जानकारी आफुलाई नभएको  डिएसपी थेवेले बताए ।

ज्यान मार्ने उद्योग र विष्फोट पदार्थ मुद्दा अन्र्तगत गत कात्तिक २८ गते प्रतिनिधि र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारका लागि गोगनेतर्फ जाने क्रममा भोजपुरको प्रदेश ‘ख’ का तात्कालिन एमाले र माओवादी केन्द्रका साझा उम्मेदवार तथा हाल प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई लक्षित गरेर टेम्के मैयुङ गाउँपालिका ६ कोटको गुम्बास्थित सकेट बम विष्फोट गराइएको थियो ।

विष्फोटमा राईको सुरक्षामा खटिएका नेपाल प्रहरीका सहायक निरीक्षक (असई) डिल्ली देवकोटा घाईते भएका थिए । राईसहित पार्टी कार्यकर्ता चढेको बा १५ ज ५६०८ नम्बरको ल्याण्डरोवर जीप विष्फोटमा परेर क्षतिग्रस्त बनेको थियो । विष्फोटपछि असई देवकोटाले २१ राउण्ड जवाफी फाईरिङ समेत गरेका थिए ।

यसअघि उनलाई काठमाडौं, काभ्रे र नुवाकोटमा विभिन्न अभियोगमा मुद्धा चलाइएको थियो । उनीसहित ‘विप्लव’नेतृत्वको नेकपाका उच्च तहका नेताहरु पदमबहादुर राई ‘विकास’, देवान राई ‘दिपेश’, किरण राई, चन्द्र बुढाथोकी लगायत विरुद्ध जिल्ला अदालत भोजपुरमा विष्फोटक पदार्थ, आगजनी र ज्यान मार्ने उद्योगको मुद्धा दर्ता भएको अदालतले जनाएको छ । सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएकै भोलिपल्ट उनलाई मोरङको विराटनगर विमानस्थल हुँदै प्रहरीको गाडीमा मंगलबार राती सवा ११ बजे भोजपुर ल्याइएको थियो ।

प्रतिक्रिया