२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

अख्तियारको प्रमुख आयुक्तमा नवीनकुमार घिमिरे सिफारिस

1872 Shares
Spread the love

काठमाडौं : संवैधानिक परिषद् बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीनकुमार घिमिरेलाई सिफारिस गरेको छ। बुधबार बसेको परिषद् बैठकले घिमिरेलाई अख्तियारको प्रमुख आयुक्त सिफारिस गरेको संवैधानिक परिषद् सचिवालय स्रोतले जानकारी दियो।

प्रमुख आयुक्त सिफारिस घिमिरे गत फागुनदेखि आयोगको कार्यबाहक प्रमुख थिए। तत्कालीन प्रमुख आयुक्त दीप बस्न्यात गत माघ मसान्तमा सेवानिवृत्त भएयता अख्तियार नेतृत्वविहीन थियो।

वि.सं २०१२ भदौ २९ मा जन्मेका घिमिरे २०३५ सालमा शाखा अधिकृतबाट निजामति सेवामा प्रवेश गरेका थिए। उनले विभिन्न जिल्लामा स्थानीय विकास अधिकारी र प्रमुख जिल्ला अधिकारी भएर काम गरेका थिए।

विभिन्न सार्वजनिक निकायको नेतृत्व गरेका उनी मन्त्रालयहरूमा सचिव भएर काम गरेका छन्। उनले सन् २०५६ मा त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासनमा स्नातकोत्तर गरेका छन्।

नेपालको संविधानको धारा २३८ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्त र अन्य चार जना आयुक्तहरू रहने व्यवस्था छ। प्रमुख आयुक्तले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अध्यक्ष भई काम गर्ने संवैधानिक व्यवस्था छ।

राष्ट्रपतिले संवैधानिक परिषद्को सिफारिसमा प्रमुख आयुक्त र आयुक्तको नियुक्ति गर्ने र उनीहरूको पदावधि नियुक्तिको मितिले ६ वर्षको हुने व्यवस्था छ।

संघीय कानून बमोजिम संसदीय सुनुवाई भएपछि सिफारिस  भएका पदाधिकारी राष्ट्रपतिबाट नियुक्त हुने संवैधानिक व्यवस्था छ।

संविधानको धारा २९२ उपधारा १ मा संविधान बमोजिम संवैधानिक परिषदको सिफारिसमा नियुक्त हुने प्रधान न्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषदका सदस्य, संवैधानिक निकायको प्रमुख वा पदाधिकारी र राजदूतको पदमा नियुक्ति हुनु अघि संघीय कानून बमोजिम संसदीय सुनुवाई हुने व्यवस्था छ।

प्रतिक्रिया