२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

ओली-दाहाल गम्भीर छलफलमा,मन्त्रीमाथि नेकपाको निगरानी

1266 Shares
Spread the love

काठमाडौं : नेकपाले मन्त्रीहरूमाथि निगरानी सुरु गरेको छ । सरकार र मन्त्रीहरूका काम कारवाहीमाथि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले निगरानी सुरु गरेका हुन् ।

सरकारका काम कारवाहीप्रति जनतामा देखिएको निराशा र मन्त्रीहरूका प्रस्तुतीमा दुई अध्यक्ष (ओली-दाहाल) गम्भीर समीक्षामा जुटेका छन् । आवश्यक पर्दा नेकपाका पूर्वघटकको सुविधा नछाडी जुनसुकै मन्त्रीलाई पनि कारवाहीको दायरामा ल्याउने गरी छलफल भएको अध्यक्ष पुष्पकमल दाहालले खुलासा गरेका छन् ।

खुमलटारस्थित निवासमा मंगलबार सीमित सञ्चारकर्मीसँग दाहालले पछिल्ला दिन सरकारका काम कारवाहीप्रति जनतामा निराशा ल्याउने काम देखिएको र मन्त्रीहरूको काम प्रभावकारी बन्न नसकेकोमा छलफल नै सुरु भई कडा कदम चाल्ने तयारी भइरहेको बताएका थिए । ‘दुई अध्यक्षबीच अहिले गम्भीर छलफल गर्ने प्रक्रिया सुरु भएको छ । स्थिति अलिक गम्भीर बन्न खोजेको छ । जनतामा फ्रस्ट्रेसन बढ्ने संकेत देखिएका छन् । मिडियामा समाचारहरू जसरी आइरहेका छन्, त्यसबारे नेगेटिभली होइन, यसको अर्जेन्सी (विषयको गम्भीरता)लाई अध्ययन गरेर हामीले समीक्षा सुरु गरेका छौं’, उनले भने ।

सरकार गठनको तीन÷चार महिनासम्म सरकार र मन्त्रीका काम कारवाही सम्बन्धमा दुई अध्यक्षबीच कुनै समीक्षा नभए पनि डा.गोविन्द केसी प्रकरणयता भने समीक्षा सुरु भएको दाहालले खुलाए । उनले भने, ‘गोविन्द केसी प्रकरण, ठाउँ ठाउँमा भएका महिला हिंसाका घटनासँग सम्बन्धित वा अन्य विषयहरूमा दुई अध्यक्षबीच गम्भीर छलफल सुरु भएको छ ।’

उनले सरकारको कामकाज, पार्टी एकतासम्बन्धी कामको समीक्षा गरी दुई अध्यक्षले प्रस्ताव तयार पारी सचिवालयमा अन्तिम रूप दिने र स्थायी समिति बैठकमा उक्त प्रस्ताव छलफलमा लगेर आवश्यक कदम चाल्ने तयारी भएको जानकारी दिए ।

नेकपाले २६ भदौमा पार्टी स्थायी समिति बैठक बोलाएको छ । ‘सरकार, पार्टीलगायत विषयमा समीक्षा गरेर एउटा प्रस्ताव तयार पार्ने भनिएको छ दुई अध्यक्षबीच । त्यो प्रस्तावलाई सचिवालयले अन्तिम प्रस्ताव बनाउने, स्थायी समिति बैठकमा लगेर छलफल गराउने र हामीले केही न केही स्टेप चाल्नुपर्छ भन्ने दिशातिर नै अहिले हामीले छलफल केन्द्रित गरेका छौं’, उनले भने ।

मंगलबार साँझ पनि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच बालुवाटारमा सरकारका काम कारवाही र पार्टी एकतासँग सम्बन्धित प्रस्ताव तयार पार्ने विषयमा छलफल भएको थियो । उनले सरकार र मन्त्रीहरूका सम्बन्धमा के गर्ने भन्ने तहमै दुई अध्यक्षबीच छलफल भएको पनि बताए । ‘कुन विधिबाट लैजाने भन्नेमा आवश्यक परे हामीले स्ट्रङ (बलियो) कदम नै चाल्नुपर्छ, सरकारका सम्बन्धमा, मन्त्रीहरूका सम्बन्धमा भन्ने तहसम्म पनि छलफल भएका छन्’, उनले पत्रकारसँग भने ।

जनताको हितमा काम नगर्ने जुनसुकै मन्त्री पार्टीको निसानामा पर्ने संकेत गर्दै उनले पूर्ववत् पार्टीका आधारमा यो पक्ष, ऊ पक्षका मन्त्री भनेर कसैलाई नछाडिने दाबी पनि गरे । ‘यो मन्त्रीलाई नचलाऊ, ऊ मन्त्रीलाई चलाऊ भन्ने छलफल गर्ने स्थितिमा हामी छैनौं’, उनले भने, ‘जो सुकै परुन्, सरकार असफल हुने, पार्टीलाई असफल पार्ने र जनता निराश पार्ने गतिविधि देखिएको छ भने हामी बेलैमा नै स्ट्रङ स्टेप चाल्नुपर्ने गरी छलफलमा छौं ।’

उनले व्यक्तिभन्दा देश ठूलो भएकाले व्यक्ति, पूर्वसमूह नभनी कोही रिसाउला भनेर नसोचिएको बताए । ‘एउटा पक्षको मन्त्री चलाउँदा त्यो पक्ष रिसाउँछ कि भन्ने ढंगले अहिले सोचिएको छैन । जनतामा बढ्न थालेको फ्रस्टेसनको स्थिति हेर्दा हामीले जो सुकै होस् कडा कदम चाल्नुपर्छ भन्ने सोचेका र छलफल गरेका छौं,’ उनले थपे ।

पूरक बजेट ल्याउने संकेत

सरकारले पूरक बजेट ल्याउने संकेत पनि दाहालले गरे । निर्वाचनताका जनतामाझ गरेका प्रतिबद्धता, जनताको अपेक्षा र आवश्यकता सम्बोधन गर्ने गरी पूरक बजेट आउन सक्नेतर्फ उनले संकेत गरे । तर उनले त्यसबारे खुलस्त नबताए पनि वृद्धभत्ता वृद्धिको चुनावी घोषणा व्याख्या गर्दै पूरक बजेट ल्याउने तयारीको संकेत गरेका हुन् ।

‘पूरक बजेट आउने बित्तिकै छुमन्तर हुन्छ भनेर सोचिएको छैन’, उनले भने, ‘ जनतामाझ हिजो गरेका कमिटमेन्ट पूरा गर्नका लागि के गर्न सकिन्छ ? वृद्धभत्ता रकम बढाउनु ठूलो कुरा होइन तर मायामा बाँधिने भएकाले थपिदिन पाए राम्रो हुने थियो ।’

भारत-चीन भ्रमण : सरकार सफल बनाउने उपाय खोज्न

दाहालले आफू दुई छिमेकी देशसँगको सम्बन्धमा सकारात्मक वातावरण बनाउन भ्रमणमा जान लागेको र भ्रमण सरकार सफल बनाउने उपायहरूको खोजीमा केन्द्रित हुने बताए । नेपालको राष्ट्रिय हित, विकासप्रति जनताको आकांक्षा सम्बोधन गर्ने र विगतका सहमति-सम्झौता कार्यान्वयनमा केन्द्रित रहेर छलफल गर्न भारत र चीन भ्रमणमा जान लागेको उनको भनाइ थियो ।

दाहाल बिहीबार भारत र भदौ ३० मा चीन भ्रमणमा जाँदै छन् । ‘भारत र चाइना जान्छु नै । सबै सेड्डुल तयार भइसकेको छ । पर्सी इन्डिया जान्छु । त्यताबाट फर्केको ६ दिनपछि चाइना जान्छु’, उनले भने, ‘नेपालको राष्ट्रिय हित, विकासप्रति जनताको आकांक्षालाई सम्बोधन गर्ने गरी मैले भारतसँग पनि गम्भीर ढंगमा छलफल गर्नुपर्छ, चीनसँग पनि गम्भीर रूपमा केही कुरा गर्नुपर्छ भन्ने लागेर म छिमेकी मुलुकको भ्रमणमा जान लागेको हुँ ।’

दुवै देशबाट भ्रमणको निम्तो पाएपछि जान लागेको भन्दै दाहालले भ्रमणमा सरकार वा कुनै विशेष उद्देश्यले जान नखोजेको बताए । ‘हामीले पार्टी एकता गरेको र प्रधानमन्त्री तथा एउटा अध्यक्ष भ्रमणमा गइसकेको र अर्काे अध्यक्ष पनि आइदिए हुन्थ्यो भन्ने उहाँहरूको चाहना र चासो स्वाभाविक हो’, उनले भने , ‘ अहिले म यता अथवा उता या सरकार भनेर जान लागेको होइन ।’

बिहीबार भारत पुगेपछि दाहाल नेपाली राजदूतावासको सामान्य भेटघाट कार्यक्रममा सहभागी हुनेछन् । भोलिपल्ट उनले आईसीडब्लूएले आयोजना गर्ने कार्यक्रममा सम्बोधन गर्नेछन् । सोही दिन उनले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गर्नेछन् । त्यसपछि उनले राजनीतिक भेटघाट गर्नेछन् । उनले भारतीय प्रधानमन्त्री र अन्य राजनीतिक दलका नेताहरूसँग पनि भेटघाट गर्ने छन् । उनले त्यहाँका बुद्धिजीवी र पत्रकारसँग पनि भेटघाट गर्ने तय भएको छ । उनी भदौ ३० मा चीन जानेछन् । चीनमा उनको कार्यक्रमको तालिका भने बनिनसकेको उनले जानकारी दिए ।

प्रतिक्रिया