२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

कम्युनिष्ट सरकार पैसालाई केन्द्रमा राखेर राजनीति गर्ने नयाँ वर्ग जन्माउँदैछ : नेता पौडेल

1393 Shares
Spread the love

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट सरकार पैसालाई केन्द्रमा राखेर राजनीति गर्ने नयाँ वर्ग जन्माउन लागेको बताउनुभएको छ ।

‘यो वर्ग नै अब लोकतन्त्रका लागि सबैभन्दा खतरा हुन सक्छ,’ तनहुँको आँबु गाउँपालिकाका विभिन्न स्थानमा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले भन्नुभयाे । पैसालाई केन्द्रमा राख्ने राजनीति भइरहेकाले राजनीतिक पार्टी जनताको नजरबाट गिर्दैै गएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कम्युनिष्ट सरकार त्यही पैसालाई केन्द्रमा राखेर राजनीति गर्ने नयाँ वर्ग जन्माउँदैछ । यो वर्ग नै अब लोकतन्त्रका लागि सबैभन्दा खतरा हुन सक्छ । पार्टीका एक-एक नेतालाई सिध्याएर पार्टी राजनीति र लोकतन्त्र सिध्याउने खेल भइरहेको छ ।’

अब नयाँ कांग्रेस

नेता पौडेलले कांग्रेस नेता-कार्यकर्ताहरुलाई आचरणलाई सुधार गरेर अब नयाँ कांग्रेस बनाउने अभियानमा लाग्न आग्रह समेत गर्नुभयो ।

‘पार्टीलाई माफियातन्त्रबाट जोगाउन कांग्रेस कार्यकर्ताहरु अगाडि आउनुपर्छ । राजनीतिक पार्टी जनताको नजरमा गिर्दै गएका छन्, यसबाट जोगाउने मेरो लक्ष्य हो । आजको आवश्यकता पनि यही हो । पैसालाई केन्द्रमा राखेर राजनीति गर्याे भने देश दुर्घटनामा जान सक्छ,’ उहाँले भन्नुभयो, ‘हिजो मैले पार्टीको नीतिमा रहेर काम गरे । संविधानसभामा कम्युनिष्टहरुसंग झगडा गरेर लोकतान्त्रिक संविधान बनाएको हो । चुनावका बेलामा हिजो साथीहरुबाट गल्ती भएको हो । अब त्यो विषयमा पश्चत्ताप गरेर पार्टी संगठनमा लाग्नुस् ।’

वाइडबडी जहाज घाेटालाकाे छानबिन हुनुपर्छ

वरिष्ठ नेता पौडेलले नेपाल वायु सेवा निगमकाे वाइडबडी जहाज खरिदमा भएको घोटलाको छानबिनको माग समेत गर्नुभयो । उहाँले भन्नुभयो, ‘कम्युनिष्टहरुले हिजो लाउडाको नाममा कांग्रेसलाई बदनाम गराए, आज त्यही नेपाल वायु सेवा निगममा वाइडबडी जहाज किन्दा भएको घोटलामा किन सबै चुप भएका छन् ? वाइडबडी जहाज खरिदमा भएको घोटलाको तत्काल छानबिन हुनुपर्छ ।’

पौडलले राजनीतिकाे भ्रष्टीकरण नेताहरुकै कारण भएको जिकिर गर्दै भन्नुभयो, ‘राजनीतिलाई भ्रष्टीकरण गर्न कस्ले कति सहयोग पुर्याएका छौँ, सबैले छातीमा हात राखेर स्मरण गरौँ । राजनीतिक पार्टीप्रति जनताको वितृष्णा किन बढिरहेको छ, त्यसलाई रोक्नु हामी सबैको जिम्मेवारी हो ।’

पौडेलले पार्टीले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेकोमा पनि गुनासो गर्नुभयो । उहाँले भन्नुभयो–‘ पार्टीको भुमिका संसदमा देखिएको छैन । कांग्रेसले संसदमा आफ्नो भूमिका अझ प्रभावकारी बनाउनुपर्छ । कम्युनिष्टहरु असफल भएपछि हामी नै आउछौँ भन्ने छैन । त्यसैले अब कांग्रेसले सजग भएर आफ्नो भूमिका देखाउनुपर्छ ।’

कता हराए ?

वरिष्ठ नेता पौडेलले चुनावका बेलामा सबै बाटाहरु २ महिनामा कालोपत्रे गर्छौ भन्नेहरु अाज विकासका काम अलपत्र छोडेर  कता हराए भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो–‘हिजो चुनावमा दुई महिनामा सवै सडक कालोपत्रे गर्छौँ भन्नेहरु आज कता हराएका छन् ? आज तनहुँमा  विकासका काम के भइरहेका छन् ? विगतमा विकासमा तनहुँले कोल्टे फेरेको थियो तर आज के भयो ? ब्यास परासर पर्यटन गुरुयोजना बनाएर हामीले तनहुँलाई पर्यटनको हब बनाउन खोजेका थियौँ । तर त्यो हुन सकेन ।’

प्रतिक्रिया