काठमाडौं । नेपाली कांग्रेस विधान संशोधन मस्यौदा समितिको ४ बुँदे निर्णय गरेको छ । समितिका संयोजक महामन्त्री पूर्णबहादुर खड्काको अध्यक्षतामा मंगलबार पार्टी केन्द्रीय कार्यालय, वीपी स्मृति भवनमा भएको मस्यौदा समितिले कार्यविधि २०७५ लाई स्वीकृत गर्ने लगायतको निर्णय गरेको छ ।
के के छन् त ४ बुँदे निर्णयमा :
१. नेपाली कांग्रेस विधान संशोधन मस्यौदा समितिको कार्यविधि २०७५ लाई स्वीकृत गर्ने ।
२. नेपाली कांग्रेसको विधानमा गरिनु पर्ने संशोधन र परिमार्जनका विषयमा नेपाली कांग्रेस कार्यसमितिका पदाधिकारी एवं सदस्यहरु, नेपाली कांग्रेस संघीय संसदीय दल, नेपाली कांग्रेस प्रदेश सभा संसदीय दलबाट लिखित राय सुझाव पठाउनका लागि अनुरोध गर्ने । साथै, पार्टी निकट सबै भातृ एवं शुभेच्छुक संघ संस्थाहरु र विदेशस्थित सबै जनसम्पर्क समितिहरुबाट २०७५ भाद्र २१ गतेभित्र केन्द्रमा प्राप्त हुने गरी संस्थागत राय सुझाव पठाउनका लागि अनुरोध गर्ने ।
३. नेपाली कांग्रेसका सदस्यहरु, मतदाताहरु, शुभेच्छुकहरु लगायत सर्वसाधरण सबैबाट नेपाली कांग्रेसको विधानमा गरिनु पर्ने संशोधन र परिमार्जनका विषयमा नेपाली कांग्रेस केन्द्रीय कार्यालयको इमेल ठेगानामा २०७५ भाद्र २१ गतेभित्र राय सुझाव पठाउनका लागि अनुरोध गर्ने ।
४. यस समितिको अर्को बैठक २०७५ भाद्र १३ गते दिउँसो १ (एक) बजे पुनः बस्ने ।