काठमाडौं : विश्वभर कोभिड १९ को महामारीबाट दुई लाख तीन हजार बढीको मृत्यु भइसकेको छ। यसमा संसारभर छरिएर रहेका नेपालीहरु पनि परेका छन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय परिषद्ले जारी गरेको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट ४९ जना नेपालीको मृत्यु भइसकेको छ।
हालसम्म नेपालमा कोरोना भाइरसबाट कसैको पनि मृत्यु नभएका बेला बाहिरका विभिन्न देशमा भने मृत्यु हुने नेपालीको संख्या ४९ पुगेको हो।
शनिवार साँझसम्म एनआरएनको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांक अनुसार सबैभन्दा बढी बेलायमा ३३ जना नेपालीको मृत्यु भइसकेको छ। त्यस्तै अमेरिकामा १० जना नेपालीको मृत्यु भएको तथ्यांकमा उल्लेख छ। त्यस्तै युएईमा दुई जना नेपालीको मृत्यु हुँदा आयरल्याण्ड, जापान, टर्की र नेदरल्याण्डमा एक/एक जना नेपालीको मृत्यु भएको छ।
त्यस्तै नेपाल बाहेक संसारका विभिन्न देशमा करिब दुई हजार नेपाली कोरोना भाइरसबाट संक्रमित भएको तथ्यांकमा उल्लेख छ।
विश्वभर १ हजार ९८३ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएको उल्लेख छ। यो संख्या अमेरिका र बेलायतमा अझ बढी हुन सक्ने बताइएको छ।
सबैभन्दा धेरै अमेरिकामा एक हजार बढी नेपाली कोरोना भाइरसबाट संक्रमित भएको र दुई सय ५० जना बढी उपचार पछि निको भएको एनआरएनले जनाएको छ। त्यस्तै बेलायतमा सात सय बढी नेपाली संक्रमित भएका छन्। यहाँ उपचार पछि एक सय ५० जना निको भएका छन्। त्यस्तै युएईमा ८१ र बहराइनमा ४९ जना नेपालीमा कोभिड-१९ को संक्रमण देखिएको छ। त्यहाँ ३४ जना उपचारपछि निको भएका छन्। त्यस्तै कुवेतमा ४२ जना नेपाली संक्रमित भएको एनआरएनको तथ्यांकमा उल्लेख छ। पोर्चुगलमा २७ जना नेपाली संक्रमित भएका छन्।
स्पेनमा १२ जना संक्रमित भएका छन्। यहाँ १० जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भइसकेको तथ्यांकमा उल्लेख छ। एनआरएनको तथ्यांकमा अष्ट्रेलियामा ११ जना नेपाली संक्रमित भएका छन्।
स्वीजरल्याण्ड ५, बेल्जियम ६, साउदी अरब ४, जर्मनी ४, मलेसिया ३, क्यानाडा ३, न्युजिल्याण्ड ३, साइप्रस ३, जापान २, हङकङ २, मल्टा २ र फ्रान्स १ जना नेपाली संक्रमित भएको तथ्यांकमा उल्लेख छ।
विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको सो आँकडाअनुसार २४ देशमा रहेका नेपालीहरु कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित छन्।
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा ३३, अमेरिकामा १०, युएईमा २, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १ र नेदरल्याण्डमा १ जना गरी ४९ नेपालीको ज्यान गएको हो।