२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

प्रतिनिधिसभा बैठक : बलात्कारमा संलग्न दोषीलाई सरकारले संरक्षण गरेको आरोप

2894 Shares
Spread the love

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बलात्कार र हत्या जस्तो जघन्य अपराधमा संलग्न दोषीलाई सरकारले संरक्षण दिने काम गरेको भन्दै चर्को आलोचना गरेको छ। प्रतिनिधिसभाको बिहीबारको बैठकको शून्य समयमा बोल्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले कंचनपुरकी निर्मला पन्तको बलात्कार र हत्यामा संग्लग्न मुख्य अभियुक्तलाई बचाई दोषी भनेर अर्कै व्यक्ति उभ्याउने काम गरेको आरोप लगाएका हुन्।

सांसद मिनबहादुर विश्वकर्मा कञ्चनपुरकी निर्मला पन्तको हत्यारालाई कारवाहीको दायरामा ल्याउनुको सट्टा सरकारले दोषी उम्काई सुस्त मनस्थितिका व्यक्तिलाई ल्याएर यिनै हुन् अभियुक्त भनेर जनतालाई ढाँट्ने काम गरेको भन्दै आपत्ति जनाए।

सांसद मिना पाण्डेलेले निर्मला पन्तको हत्यामा संलग्न अभियुक्तलाई जोगाउने प्रयास भइरहेको भन्दै बलात्कार र हत्या जस्तो जघन्य अपराधलाई राजनीतिकरण नगरी निश्पक्ष छानविन गरि दोषीलाई कारवाही गर्न सरकारको ध्यानाकर्षण गराइन्।

सासद रंगमति शाहीले कंचनपुरकी निर्मला पन्तको हत्यामा संलग्नलाई कारवाही गर्नुपर्छ भन्ने आवाज उठाउने जनतामाथि सरकारले थप दमन गर्ने काम गरेको भन्दै सरकारको आलोचना गरिन्।

सत्तारुढ दलकै सांसदहरुले पनि मुलुकभर बलात्कार र हत्या जस्ता घटना बढ्दै गएको भन्दै त्यस्ता घटना नियन्त्रणका मृत्यु दण्ड दिने व्यवस्था संविधानमा नै गर्न सरकारको ध्यानाकर्षण गराए।  सांसदले मैना कुमारी भण्डारीले निर्मला पन्तको हत्याबारेको यथार्थ अनुसन्धान गरी दोषीलाई कारवाही गर्न माग गरिन्।

सांसद यज्ञराज सुनुवारले ओखलढुंगा जिल्लाका लिखु गाउपालिकाका अध्यक्ष गोविन्द पौडेलमाथि सांघातिक हमला भएको केही समय नबित्दै सोही जिल्लाका सन्तोष कार्कीको हत्या भएको भन्दै दोषीलाई कडा कारवाहीको माग गरिन्। सांसद राधा ज्ञवालीले संविधान संशोधन गरी बालिका बलात्कार गर्ने अभियुक्तलाई मृत्यु दण्ड हुने प्रावधानको व्यवस्था गर्न माग गरिन्।
नियमावली कार्यान्वय गर्न माग

सांसद मिनेन्द्रप्रसाद रिजालले प्रधानन्यायाधीशका लागि प्रस्तावित उम्मेदवारलाई सुनुवाई समितिले अस्वीकार गरेपछि संचारमाध्यमबाट नयाँ नियुक्तीको नया प्रक्रिया सुरु भयो भन्ने जानकारी आएको उल्लेख गर्दै संसदले आफ्नै प्रक्रियाबाट यो जानकारी प्राप्त गर्नुपर्नेमा सम्बन्धित निकायको ध्यानाकर्षण गराए।

उनले प्रधानन्यायाधीसमा प्रस्तावित उम्मेदवार अस्वीकृतिको निर्णय लगायतका कागजात संसदमा वितरण गर्न माग गरे। उनले नियमावलीको परिच्छेद ९ अनुसार प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर र परिच्छेद ८ बमोजिम मन्त्रीहरुसँगको प्रश्नोत्तर गर्ने व्यवस्था कार्यान्वयन तत्काल गर्न सभामुखको ध्यानाकर्षण गराए।

सांसद रामेश्वरराय यादवले किसानले उखुको भुक्तानी अभैm पाउन नसकेको भन्दै नगदे बालिको रुपमा हेरिने उखुको भुक्तानी ४ वर्ष सम्म हुन नसकेको तर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराए। झण्डै ९ अर्ब रुपैयाँ बाँकी भइरहेका बेला संसदमा उखुको भुक्तानीबारे पटक पटक आवाज उठेपनि सरकारको ध्यान किन आकर्षित भएन भनी प्रश्न गरे।

नियमावलीले संसदमा उठेका प्रश्नको ५ दिन भित्र सम्बन्धी मन्त्रीले जवाफ दिनुपर्ने व्यवस्था भएपनि त्यसबारे सम्बन्धित मन्त्रीको जवाफ नआएको भन्दलै सरकारको ध्यानाकर्षण गराए। सर्लाही जिल्लालाई उखुको सुपरजोन बनाउने विषय बारे पनि जानकारी माग गरे।

सांसद भिमसेनदास प्रधानले कर र मूल्य वृद्धिले आम जनाता पीडित भएको भन्दै कम्तिमा जन्म र मृत्यु निशुल्क गराउने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए।

सांसद महेश बस्नेतले भक्तपुरको चांगुनारायणस्थित इन्जिनियरिङ कलेजमा २० करोड बढी घोटाला भएको खबर आएको भन्दै निश्पक्ष छानविन गर्न शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराए।  सांसद मायादेवी न्यौपाने काठमाडौंमा छाडा छोडिएका भुस्या कुकुरहरुलाई तुरुन्तै नियन्त्रण गर्नका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराइन्।

प्रतिक्रिया