प्रम ओलीको सम्बोधनप्रति आपत्ति जनाउँदै कांग्रेस संसदीय दलका नेता रामसरोज यादव ।
जनकपुरधाम : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नम्बर २ को प्रदेशसभा बैठकलाई गरेको सम्बोधनमा केही आपत्तिजनक र भ्रामक सन्देश दिइएको भन्दै नेपाली कांग्रेसका नेताहरुले आपत्ति जनाएका छन् ।
भदौ २ गते प्रधानमन्त्री ओलीले प्रदेशसभालाई सम्बोधन गर्दै २०७३ फागुन २३ गते सप्तरीको मलेठमा एमालेको आमसभाका क्रममा भएको झडप र हत्याबारे जानकारी नै नरहेको बताएका थिए । ओलीले आफू राजमार्गमा पुगिसकेको बेला सुनियोजितरुपमा गोली प्रहारपछि झडप भएको कुरासमेत उनले सम्बोधनमा उल्लेख गरेका थिए ।
तर, उनले भनेका यी कुराहरु पूर्णरुपमा असत्य र जनतालाई भ्रमित पार्ने रहेकोे नेकां संसदीय दलका नेता रामसरोज यादवले आरोप लगाएका छन् । यादवले जनकपुरमा पत्रकार सम्मेलन गरेर ओलीले प्रदेशसभामा दिएको मलेठ घटनासम्बन्धी भाषणबाट उनको झुट स्पष्ट भएको जिकिर गरे । उनले मधेसी जनतालाई मात्र नभई देशभर भ्रामक सन्देश दिन खोजेको आरोप पनि लगाएका छन् ।
‘सप्तरीमा घटना भएको एक दिनपछि २०७३ फागुन २४ गते नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले विज्ञप्ती जारी गरी मेची–महाकाली राष्ट्रिय अभियानको क्रममा राजविराजमा कार्यक्रम गर्न खोज्दा मधेसी मोर्चासम्बद्ध नेता कार्यकर्तालेसभा विथोल्न खोजेको र आफूहरुलाई घेराबन्दी गरि सामूहिक हत्या गर्ने प्रयास गरिएको उल्लेख थियो ।
आफ्नै पार्टीको विज्ञप्तीलाई भुल्दै प्रधानमन्त्री ओलीले मलेठ घटनाको विषयमा गलत भाषण दिनु पदीय गरिमाविपरित रहेको भन्दै नेता यादवले खेद जनाएका छन् ।
त्यसैगरी प्रधानमन्त्री ओलीले प्रदेश २ मा रहेको विश्वविद्यालयबाट काम सञ्चालन हुन नसकिरहेको अवस्थामा यस प्रदेशमा नयाँ विश्वविद्यालय खोल्ने कुरा समेत गरेका थिए ।
तर, प्रदेश २ मा २०७४ कार्तिक १२ गतेनै स्थापित रहेको राजर्षि जनक विश्वविद्यालयलाई ओझेलमा पार्ने अभिप्रयाले प्रम ओलीले यस्तो वक्तव्य दिएको समेत नेता यादवको आरोप छ ।
‘राजर्षि जनक विश्वविद्यालयमा उपकुलपति, रजिष्टार, सेवा आयोगका अध्यक्ष तथा सदस्यको समेत नियुक्ति भइसकेको अवस्था छ’, उनले भनेका छन्, ‘विश्वविद्यालयको लागि ५ महिनाको ५ करोड बजेट अर्थ मन्त्रालय तथा विश्वविद्यालय अनुदान आयोगबाट गत अािर्थक वर्षमै स्वीकृत भइसकेको छ ।’
विश्वविद्यालयलाई प्रदेश सरकारबाट समेत १ करोड आर्थिक अनुदान प्रदान गरिएको छ । हाल यस विश्वविद्यालयबाट १६ वटा टेक्निकल विषय पढाउने अनुमति प्रदान भइसकेको र कार्यालय सञ्चालन गर्न सरकारबाट घर तथा जग्गा प्राप्त नभएको अवस्थामा रामानन्द चौकमा घर भाषामा लिई कार्यालय समेत संचालन भइरहेको छ ।
पाठ्यक्रम निर्माणका लागि पाठ्यक्रम विकास केन्द्रको निर्देशकको नियुक्ति भइसकेको र विभिन्न विषयहरुको पाठ्यक्रम समेत निर्माण भइसकेको छ । आगामी सत्रदेखि बीबीए, बीएमएलटी र बीएससी.आईटीको पठनपाठन समेत शुरु गर्ने निर्णय भइसकेको अवस्थामा प्रमले प्रदेश २ मा नयाँ विश्वविद्यालय खोल्नुपर्ने बताउनु निन्दनीय रहेको नेता यादवको भनाई थियो ।
उनले प्रदेश सभाको मर्यादाविपरित प्रम ओलीले आफ्ना सुरक्षा गार्डलाई पोशाकमै प्रदेशसभामा उभ्याउनुले समेत उनले प्रदेशसभालाई नियन्त्रण गर्न खोजेको नियत प्रष्ट भएको बताए । उनले सदनमा समेत आफूहरु प्रधानमन्त्री ओलीको गैरसंसदीय क्रियाकलापको बारेमा आफ्नो अभिव्यक्ति राख्ने तयारीमा रहेको बताएका छन् ।