एजेन्सी– भारतमा आइतबार राति ९ बजे ९ मिनेट बिजुली बत्ती बन्द गरेर दियो, मैनबत्ती, टर्च तथा मोवाइलको फ्लास बालेर सार्वसाधारणले प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानप्रति ऐक्यवद्धता जनाएका छन्।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसविरुद्धको लडाईंमा ऐक्यवद्धता जनाउनका लागि बत्ती निभाएर दिप प्रज्वलन गर्न प्रधानमन्त्री मोदीले देशबासीलाई अपिल गरेका थिए।
मोदीको सोही अपिलप्रति समर्थन जनाउँदै आज भारतभर ९ बजे ९ मिनेट बिजुली बन्द गरेर दीप प्रज्वलन गरिएको हो।
प्रधानमन्त्री मोदीले यसकार्यबाट मानिसहरुमा जनचेतना फैलने र लकडाउनका कारण घरमा बसिरहेका मानिसहरुलाई एक्लोपन महशुस नहुने बताएका थिए।
प्रधानमन्त्री माेदीले समेत दिल्लीस्थित आफ्नाे निवासमा दीप प्रज्वलन गरेर सबैलाई धन्यवाद दिएका छन्।
भारतमा यतिबेला २१ दिन लामो लकडाउन चलिरहेको छ। आज लकडाउनको १२ औँ दिन हो।
कोरोना भाइरसको प्रकोप भारतमा दिन प्रतिदिन बढ्दै गइरहेको छ। हालसम्म भारतमा कोरोनाको संक्रमणबाट ९९ जनाको ज्यान गएको छ भने ३५ सय भन्दा बढीमा संक्रमण देखिएको छ।