लण्डन । चीनबाट खरिद गरिएको मेडिकल सामग्री नियतवश धेरै महंगोमा ल्याइएको बारेमा ब्यापक विरोध भए पछि स्वास्थ्य मन्त्रालयले उक्त टेण्डर नै रद्द गरेको छ । तर, दुर्भाग्य त्यस्तो अनियमित कारोबार विरुद्ध समयमै सजग गराउने एक एनआरएनए अभियन्ता विरुद्ध सिङ्गो एनआरएनएकै नेतृत्व खनिएको छ ।
चुनावी प्रक्रिया नै धाधली भएको र राजनैतिक दलको भातृसंस्था जस्तो व्यवहार गरेको आरोप खेपिरहेको गैह्र आवासीय नेपाली संघ सरकारको गलत कामलाई मरिहत्ते हालेर काध थापेको देख्दा एनआरएनए अभियन्ता नै अचम्ममा परेका छन ।
सत्यका साथ दिइरहेका आफ्ना आइसीसी सदस्यलाई विवादमा तानेर कार्वाही गर्ने चेतावनी कार्यान्वयन गर्न कुमार पन्तले सक्लान ? त्यसपछि आउने परिणाम के एनआरएनए केन्द्रले थेग्ला ? त्यो समयले बताउँला तर सत्यको साथ दिएर पत्रकार रवि लामिछानेलाई दिएको अन्तरवार्ताले कुमार पन्तको हाइट घटेकै हो त यो जिम्मा एनआरएनए प्रतिनिधीले नै नाप्लान तर नविन विकलाई सत्य अन्तरवार्ता दिएकै भरमा आइसीसीबाट गलत्याउनु कति न्यायोचित छ ६० लाख प्रवासी नेपालीले बताउँने छ्न ।
वास्तविक तथ्य यस्तो छ
चीनको ग्वान्जाउमा १५ बर्षदेखि व्यापार गरिरहेका एनआरएनए आइसीसी सदस्य नवीन बिकले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई खुला-पत्र लेखेका थिए । चीनबाट ल्याएको मेडिकल सामग्रीमा करोडौं भ्रष्टाचार भएकोले ३ करोड नेपालीको स्वास्थ्य र तिनका जिन्दगी र भविष्यसंग खेलवाड नगर्न उनले चेतवानी पनि दिएका थिए ।
गलत कामको भण्डाफोर गर्ने आफ्ना सदस्यको बचाउ गर्नु पर्नेमा कुमार पन्त नेतृत्वको वर्तमान कार्यसमिति भने सिङ्गै मुलुक कोरोनाको संकटमा डुबेका बेला खुलेआम भ्रष्टाचार गर्न उद्यत वर्तमान ओली सरकारको लाज जोगाउन उभिएको छ ।
एनआरएनएका प्रवक्ता डीबी क्षेत्रीले मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै भनेका छन्, “नेपाल सरकारले चिनबाट स्वास्थ्य परिक्षण उपकरण र सुरक्षा सामग्रीहरुको खरिद गर्दाको प्रकृया र खरिद मुल्यका वारेमा संघका अन्तर्राष्ट्रिय समन्वय परिषदका एक सदस्यले टेलिभिजन कार्यक्रममा दिएको सार्वजनिक अभिव्यक्ति प्रति हाम्रो ध्यानाकर्षण भएको छ । निजले दिएको अभिव्यक्ति संघको आधिकारिक धारणा नभएको प्रष्ट पार्न चाहान्छौं । संघले तोकेको आधिकारीक व्यक्ति बाहेक अन्य व्यक्तिले दिएको अभिव्यक्ति संघको आधिकारिक धारणा हुन नसक्ने आमसंचार माध्यमलाई समेत जानकारी गराउँदछौं ।“
आइसीसी सदस्य नवीन बिकको नाम उल्लेख नगरिएको सो वक्तव्यमा “खरिद प्रकृयाका बिषयमा कुनै कमिजोरी भए यसको छानबिन गर्ने जिम्मेवारी राज्यको सम्बन्धित निकायको हो । यो आपतकालिन अवस्थामा देश विदेशमा बस्ने सबै नेपालीहरुलाई यस महाप्रकोप विरुद्ध सम्पूर्ण मानवजातिसंग एकजुट भएर लड्न अनुरोध गर्दछौँ,” भनिएको छ ।
नबिनले यसै बिषयमा रवी लामिछानेको सिधा कुरा जनतासंग सो मा पनि खुल्ला रुपमा बोले पछि सरकारको बिरोध गरेको भन्दै गैर आवासीय नेपाली संघले बक्तब्य निकालेको हो ।
स्वास्थ्य मन्त्रालयले २५ माघमा स्वास्थ्य सामग्री आपूर्ति गर्न भन्दै व्यवसायीलाई छलफलमा डाकेर कोटेसन मागे पछि १९ व्यवसायीले मन्त्रालयमा कोटेसन हालेका थिए । तर, त्यसको डेढ महिनापछि ६ चैतमा मन्त्रालयले सबै कोटेसन रद्द गरेको खबर हाम्राकुराले लेखेको थियो । त्यसपछि मुलुक ‘लकडाउन’ घोषणा गरेर हतारमा टेन्डर गरी मिलेमतोमा ओबिसिआईलाई महँगोमा खरिदको ठेक्का दिएको कुरा नयाँ पत्रिकाले भण्डाफोर गरेको थियो ।
रसायन तथा मेडिकल आपूर्ति संघले व्यवसायीले हालेको कोटेसनभन्दा निकै महँगोमा सामान खरिद भएकोमा आपत्ति जनाएको छ । निश्चित व्यवसायीसँगको मिलेमतोमा खरिद प्रक्रिया अघि बढाइएको भन्दै संघले प्रश्न उठाएको छ । ‘प्रचलित बजारभन्दा अधिक मूल्यमा, आधिकारिक स्रोत नखुलेको र गुणस्तरको बेवास्ता गरी सामग्री खरिद गरिएको छ,’ संघले भनेको छ, ‘यस्ता सामानको नतिजा के हुने भन्ने चिन्ता छ,” विज्ञप्तिमा उल्ल्लेख छ ।
तमाम बिरोध र खबरदारीका बावजुद पनि प्रथम चरणको सामान सरकारले ल्याएको थियो, तर कोरोना टेस्ट किटहरु बिश्व स्वास्थ्य संघले प्रमाणित नगरेकोले प्रयोग नै नहुने भएपछि सरकारले दोस्रो र तेस्रो अर्डर ल्याउने टेण्डर नै रद्द गर्यो । सरकारले यस्तो महामारीको बेलापनि कमिसनको खेल खेल्ने पदाधिकारीहरुलाई बचाउन टेन्डर रद्दको छोटो बाटो रोजेको र भ्रस्ट र अनियमितता गर्नेहरुलाई बचाउन खोजेको भन्दै व्यापक आलोचना भैरहेको छ ।
हेर्नुहोस् नवीन बिकको पत्र
माननीय स्वास्थ्य मन्त्री श्री भानुभक्त ढकालज्यु,
स्वास्थ्य मन्त्रालय, काठमाडौ, नेपाल
म, नबिन बिक, बिगत १५ बर्ष देखी चीनको गोन्जाउ शहरमा अन्तराष्ट्रीय ब्यापार गर्दै बसेको छु । म एनआरएनएको केन्द्रीय सदस्य पनि हुं, मैले अहिलेको स्थितिमा केही नबोलीकन चुपचाप बस्न सकिनं, त्यसैले केही कुराहरु लेख्दैछु ।
देशमा यस्तो महामारी फैलिदै गरेको र देश पुरै ठप्प भएको अवस्थामा हजुरले चीनबाट जसरी तुरुन्तै सामान झिकाएर नेपाल भित्र्याउने निर्णय गर्नु भयो त्यो जस्तो सराहनीय र पबित्र काम स्वास्थ्य मन्त्रालयको ईतिहासमा सायदै अरु कुनै हुन्थ्योहोला तर आज ठीक त्यसको बिपरीत यो जत्तिको निच, अपबित्र र घृणृत काम तपाई र तपाईको मन्त्रालयबाट सायदै पहिला भएको छ।
यो पाप तपाईले रुद्री चन्डी सप्ताह वा तुलादान जे गरे पनि तपाईको सात पुस्तालाई पोल्ने कुरामा कुनै दुईमत छैन किनकी तपाईले ३ करोड नेपालीको स्वास्थ्य र तिनका जिन्दगी र भबिस्यसंग खेलवाड गर्नु भएको छ ।
नविन विकले फेसबुकमा राखेको जानकारीलाई आधार मानेर अमेरिकी डलर १ बराबर नेपाली १२० राखेर हिसाव गर्दा ५ वटा सामानमा मात्रै ५४ करोड ५३ लाख ४३ हजार ३ सय २० रुपैयाँको कमिसन चक्कर देखिन्छ ।
(श्रोत: नवीन बिकको फेसबुकबाट)