लन्डन, मार्च ३१ (जीएनएन) – लन्डनस्थित नेपाली राजदूतावासले हाल बेलायतका विभिन्न विश्वविद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई सुरक्षित, संयमित र अनुशासित रहन र अत्यावश्यक अवस्थामा राजदूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ।
एक विज्ञप्ति प्रकाशित गर्दै दूतावासले भनेको छ,” संयुक्त अधिराज्य (बेलायत) मा कोरोना भाइरसको संक्रमणमा वृद्धि भई नेपालीहरु पनि प्रभावित भैरहेको व्यहोरा यहाँहरु सबैमा विदितै छ । नेपालबाट आई बेलायतका विभिन्न विश्वविद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुले यस घडीमा सुरक्षित, संयमित र अनुशासित रहन र अत्यावश्यक अवस्थामा राजदूतावासको निम्न सम्पर्क नम्बर र इमेलमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।“
राजदूतावासको इमेल: [email protected]
उप—नियोग प्रमुख — शरदराज आरण, मोवाइल नम्बर 07460595188
तृतीय सचिव — तेजेन्द्र रेग्मी, मोवाइल नम्बर, ०७४२७३३०८३७
विद्यार्थीहरुलाई राजदूतावासमा सम्पर्क गर्दा नेपालमा आफ्नो अभिभावकको नाम, सम्पर्क इमेल र टेलिफोन नम्बर, आफूलाई बेलायतको विश्वविद्यालयमा पठाउने शैक्षिक कन्सल्टेन्सीको नाम, इमेल र सम्पर्क नम्बर एवं सम्बन्धित विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध हेर्ने पदाधिकारीको नाम, इमेल र सम्पर्क नम्बर समेत उपलव्ध गराइदिन पनि दूतावासले अनुरोध गरेको छ ।
भिसाको आशामा विद्यार्थीहरु
सन् २०२० को जनवरी, फेव्रुरी इन्टेकमा झन्डै २०० जना नेपाली विद्यार्थीहरु उच्च शिक्षा हासिल गर्न बेलायत आएका छन् । उनीहरुलाई बेलायतले पोस्ट स्टडी वर्क भिसा दिने भयो भन्दै बेलायत ल्याइएको तर त्यस्तो भिसा पाउने नपाउने अझै स्पष्ट भैसकेको छैन। बेलायत सरकारले सन् २०२१ को ग्रिष्म ऋतुमा ग्रयाजुयट गर्ने विद्यार्थीहरुले मात्रै पोस्ट स्टडी वर्क भिसाका लागि आवेदन दिन सक्ने जनाएको छ ।
यसैबीच ग्लोबल नेप्लिज न्युज नेटवर्कसंग कुरा गर्दै ब्रिटेनका ५५ ओटा विश्वविद्यालयहरुमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरुको संस्था मर्जिंग नेपाल सक्सका अध्यक्ष पवन कंडेलले समस्यामा परेका विद्यार्थीहरुलाई आफुहरुलाई सम्पर्क गर्न आग्रह गरेका छन् ।
“हामीले १०० जना भन्दा बढी नेपाली विद्यार्थीहरुसंग कुरा गरेर उहाँहरुको समस्याको बारेमा जानकारी लिएका छौं । नेपाली दूतावास, एनआरएन युके लगायतका निकाय तथा संस्थाहरुसंग सहकार्य गरी सक्दो सहयोग गर्न हामी क्रियाशील छौं,” उनले भने।
हालै बेलायत आइपुगेका एक नेपाली विद्यार्थीले एउटा भिडियो संदेशमा कोरोना संकटका कारण विश्वविद्यालयहरुका साथै आफुहरुले काम गर्ने रेस्टुरेन्ट, डिपार्टमेन्ट स्टोर आदि बन्द भएकाले समस्या झेल्नु परिरहेको बताए लगत्तै नेपाली दूतावासले त्यस्तो विज्ञप्ति निकालेको हो।