लन्डन । गैरआवासीय नेपाली संघ बेलायत उपाध्यक्ष सुनिल बाबु खड्काले भूतपूर्व गोर्खा लगायत वृद्ध वृद्धालाई निशुल्क खाना खुवाउने तथा अहिलेको अवस्थामा बेलायतमा समस्यामा परेका ६ जना जति नेपाली बिधार्थीलाई निशुल्क खान र बस्न दिने भएका छन् ।
बेलायत सरकारले कोरोना भाइरसका कारण विशेष गरी वृद्ध वृद्धालाई घरमै बस्न अनुरोध गरेपछि एनआरएनए बेलायत उपाध्यक्ष खड्का वृद्ध वृद्धाको तथा समस्यामा परेका नेपाली बिधार्थीको सेवामा लागेका हुन् ।
आफू बस्ने वोकिंग क्षेत्रमा स्थानीय वृद्धवृद्धालाई खाना घर घरमा पुर्याइने उनले बताए । सो कार्यका लागि उनलाई परिवार र केही साथीहरुको साथ छ । “कोरोना भाइरस संक्रमित संख्या दिनानुदिन वृद्धि भएपछि बेलायत सरकारले वृद्ध वृद्धालाई अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन भनेको छ”,उपाध्यक्ष खड्काले भने, “यस्तो दुखको घडीमा सवै समुदायका वृद्धवृद्धा आमा तथा बुवाको सेवा गर्न मैले निशुल्क भोजन घरघरमा पुर्याउन लागेको छु ।” र ६ जना जति नेपाली बिधार्थीलाई निशुल्क खान र बस्न दिन लागेको छु ।
“कोरोना भाइरसबाट संक्रमति मानिसहरुको मृत्यू दर बढिरहेको छ । बेलायत पनि कोरोना मारमा परेको हामी सवैलाई थाहा छ । व्यापार व्यवसाय कोरोनाकै कारण संकटमा परेको छ । मानव जीवन नै लिने यो रोगबाट बच्न हामी सबै सचेत हुनु जरुरी छ,” उपाध्यक्ष खड्काले भने ।