काठमाडौं, चैत ६ । कोरोनाको नकारात्मक प्रचार गरी अफवाह फैलाउनेलाई कडा कारवाही गर्न गृह मन्त्रालयले देशका सबै जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ ।
बिहीबार गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यकारी समिति बैठकले भारतबाट कोरोनाको संक्रमण भित्रिन सक्ने लेखाजोखा गर्दै सीमामा हुने कोरोना जाँचमा अझै कडाई गर्नेलगायतका निर्णय पनि गरेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जाँचमा कडाइ गरी भारतबाट कोरोना संक्रमण नेपालतिर भित्रनै नदिने योजना बनाइएको दाबी गरे ।
यस्तै मालपोत कार्यालय, विद्युत प्राधिकरण लगायतका कार्यालयहरुमा सेवाग्राहीको भिड हुने भएकाले पानी, विद्युतको महसुल तिर्ने वा अन्य राजस्व बुझाउने कार्यालयहरुसँग समन्वय गरी चैत महिनाको महसुल समयमै नतिर्दा लाग्ने जरिवाना मिनाहाको निर्णय समेत भएको पोखरेलले बताए ।
कोरोना भाइरसको वस्तुस्थिति पूर्व तयारी तथा प्रतिकार्य योजनाका बारेमा बैठकमा जानकारी गराइएको थियो ।