२०८३, ७ आश्विन बुधबार
×

ट्रेन्डिङ

कोरोना दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो चुनौतीः चान्सलर मर्केल

1053 Shares
Spread the love

बर्लिन। जर्मन चान्सलर एन्जेला मर्केलले कोरोना विरूद्धको लडाई दोश्रो विश्वयुद्ध पछिको सबैभन्दा ठूलो चुनौती भएको बताएकी छिन् । टेलिभिजन मार्फत सम्बोधन गर्दै मर्केलले यो लडाईंमा सबै नागरिकलाई साथ दिन हात अपिल गरेकी छिन् ।

मर्केल सन् २००५ देखि जर्मनीको चान्सलर हुन् । यी १५ बर्षमा, मर्केलले सँधै नयाँ वर्षको अवसरमा मात्र टेलिभिजन मार्फत देशबासीलाई सम्बोधन गर्ने गरेकी थिइन् । चान्सलर मर्केलले आफ्नो करिअरमा पहिलो पटक आपतकालको कारणले देशलाई सम्बोधन गरेकी हुन् । चीनपछि सबैभन्दा बढी कोरोनाको प्रभाव इटाली, इरान, स्पेन र जर्मनीमा देखिएको छ । कोरोनाको बढ्दो असरलाई मध्यनजर गर्दै युरोपका तीन देशहरु इटाली, स्पेन र फ्रान्सले पुरै लकडाउनको घोषणा गरेका छन भने अष्ट्रिया, नर्वे, स्वीजरल्याण्ड, जर्मनी लगायतका देशले आशिंक क्षेत्र लकडाउन गरेका छन् ।

मर्केलको टेलिभिजन सम्बोधन हुने चर्चासँगै जर्मनीमा पनि आपतकाल घोषणा हुने आशंका गरिएको थियो तर उनले सो घोषणा भने गरिनन् । देश चलाउनु पर्ने भन्दै उनले आर्थिक पाटोलाई जीवितै राख्न सकभर कामहरु जारी राख्नुपर्ने तर्क गरेकी छिन् । तर सबै कुरा जसले मानिसलाई हानी पु‍र्याउँछ, त्यसलाई भने कम गर्नुपर्नेमा उनको जोड थियो । जति सकिन्छ सार्वजनिक घुलमिल घटाउन आग्रह गर्दै मर्केलले होशियारीका साथ अघि बढ्न अपिल गरेकी छिन् ।

अवस्था एकदम गम्भीर भएको र आम जनताले पनि यसलाई गम्भीरताका साथ लिनुपर्ने भन्दै उनले सरकारले लगाएको हरेक प्रकारको प्रतिबन्धको होसियारीपूर्वक अनुसरण गर्न अपिल गरिन् । उनले भनेकी छिन्, ‘सार्वजनिक जीवनमा प्रतिबन्ध लगाइएको छ, यो जर्मनीमा कहिल्यै भएको थिएन । प्रजातन्त्रमा त्यस्तो प्रतिबन्ध केवल आपतकालमा मात्र लागू गर्न सकिन्छ र त्यो पनि अस्थायी रूपमा ।’

६५ बर्ष भन्दा माथिका ब्यक्तिमा कोरोनाको उच्च जोखिम हुने भएकाले वृद्धवृद्धा र बालबालिकाहरु एकअर्काबीच टाढा रहन विशेषज्ञहरुले गरेको आग्रह पालना गर्न अपिल गरेकी छन् । मानिसहरूबीच सम्पर्क स्थापित गर्न बरु स्काइप, टेलिफोन, इमेल वा पत्राचार गर्न सल्लाह दिएकी छन् ।

जर्मनीमा मानिसहरूले कोरोनाको बढ्दो अवस्थाको बीचमा सुपरमार्केटबाट धेरै मात्रामा सामानहरू खरिद गरिरहेका छन् । लकडाउन हुने डरले नागरिकहरुले खानेकुरा भण्डार गरिरहेका छन् । मर्केलले मानिसहरूलाई अफवाहमा विश्वास नगर्न अपिल गर्दै जस्तोसुकै अवस्थामा पनि खाद्य वस्तुहरूको आपूर्ति जारी हुने सुनिश्चितता ब्यक्त गरिन् । मर्केल भन्छिन्, ‘सबैलाई विश्वास दिलाउँछु कि सबै सामान समयमा उपलब्ध हुन्छन् । यदि खाद्यान्न र्याकहरु खाली छन् भने, भोलिपल्टै तिनीहरू भरिनेछन् । ’

आफ्नो सन्देशमा, मर्केलले अस्पताल र सुपरमार्केटमा काम गर्नेहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दै भनिन्, ‘तपाईहरू अहिले सबैभन्दा गाह्रो काम गर्दै हुनुहुन्छ र आफ्नो देशवासीको सेवा गर्दै हुनुहुन्छ ।’ मर्केलले जर्मनीको चिकित्सा प्रणाली संसारकै सब भन्दा राम्रोमध्ये एक हो भन्ने आश्वासन पनि दिइन् । यद्यपि मानिसहरूले सार्वजनिक जीवनमा प्रतिबन्धको पालना नगरेमा एक्कासी कोरोना संक्रमितको संख्या बढ्ने र अस्पतालहरूको लागि समस्या उत्पन्न हुने उनको चेतावनी थियो ।

मर्केलले कोरोनासँगको युद्धलाई ऐतिहासिक चुनौती भनिन् । ‘यो ऐतिहासिक चुनौती हो र हामी यसलाई एक भएर मात्र सामना गर्न सक्छौं, मलाई विश्वास छ कि हामी यसलाई जित्न सक्छौं । तर हाम्रा कतिपय प्रियजनहरू यस युद्धमा हामीबाट अलग हुनेछन्,’ उनले भनिन् । उनले थपिन् ‘यस समयमा स्थिति दिनप्रतिदिन परिवर्तन हुँदैछ र आउँदो हप्ताहरूमा मानिसहरूले अझ बढी चुनौतीहरूको सामना गर्न तयार हुनुपर्दछ ।’ आर्थिक रूपमा अर्को हप्ता अझ गाह्रो हुँदै जाने उनको भनाइ छ । यस कठिन समयमा सरकारले सहयोग गर्न प्रत्येक सम्भव कदमहरू चाल्ने र सरकारी कदममा आश्वस्त हुन आग्रह गरेकी छन् ।

जर्मनीमा स्कूल, डे केयर र विश्वविद्यालयहरू अप्रिल १८ सम्मको लागि बन्द छ । यसबाहेक सबै क्लब, बारहरू र थिएटरहरू पनि बन्द छन् । कन्सर्ट र फुटबल खेलहरू पनि रद्द गरिएको छ । तर रेष्टुरेन्टहरू दिनको केही समयमा खोल्न अनुमति छ । तर, टेबल डेढ मिटरको दुरीमा राख्नुपर्ने छ । सरकारी कार्यालय सहित प्राय निजी कार्यालयहरु पनि बन्द छैनन् । यद्यपि प्रायःजसो कम्पनीहरूले आफ्ना कर्मचारीहरूलाई घरबाट काम गर्न आग्रह गरिरहेका छन् । अर्थतन्त्रलाई ध्यानमा राख्दै यस्तो निर्णय लिइएको मार्केलको सन्देशबाट बुझिन्छ।

जर्मनीमा अहिलेसम्म कोरोना संक्रमणको संख्या १३ हजार पुगेको छ । ३२ व्यक्तिले आफ्नो ज्यान गुमाएका छन् । विज्ञहरूका अनुसार यदि भाइरस फैलिन रोकिएन भने आउँदो महिनाहरूमा जर्मनीमा करीव एक करोड मानिसहरू कोरोना संक्रमणको शिकार हुन सक्ने सम्भावना छ ।

प्रतिक्रिया