काठमाडौं, चैत ५ । काठमाडौंको सानोभर्याङबाट प्रहरीले दश लाख थान मास्क बरामद गरेको छ । कालोबजारीका लागि लुकाई छिपाई राखेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ पनि गरेको छ ।
प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले गोरखाका युवराज न्यौपानेलाई १० लाख थान मास्कसहित पक्राउ गरेको महाशाखा प्रमुख एसएसपी सहकुलबहादुर थापाले जानकारी दिए ।
बजार मूल्यभन्दा बढीमा बेच्न खोजेको सूचना आएकाले न्यौपानेलाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीको भनाइ छ । कोरोना भाइरसका कारण बजारमा मास्कको माग बढेकै बेला ठूलो मात्रामा गोदाम गरी राखेकाले कालोबजारी गर्न खोजेको आशंका प्रहरीको छ ।
दीप ओभरसिजका सञ्चालकसमेत रहेका न्यौपानेले प्रतिमास्क २० देखि ३० रुपैयाँमा बिक्री गर्न मोलमोलाई गरिरहेका समयमा नियन्त्रणमा लिएको दावी प्रहरीको छ । चीनबाट सिधै आयात गरेका न्यौपानेले २४ लाख मास्क बेचिसकेको प्रहरी उपरीक्षक मुकेश सिंहले जानकारी दिए ।
न्यौपानेमाथि कालोबजारी ऐनअनुसार कार्वाही अगाडी बढ्ने पनि न्यौपानेले बताए । चीनमा ३ रुपैयाँ पर्ने मास्कलाई नेपालमा ५ रुपैयाँमा खुद्रा मूल्य पर्ने गरेको छ । तर न्यौपानेले २० देखि ३० रुपैयाँमा बेच्ने गरेको दावी प्रहरीको छ ।
यसअघि प्रहरीले चैत २ मा दश लाखभन्दा बढी मास्क बरामद गरेको थियो । मंगलबार मात्रै बढी मूल्यमा बेच्न खोजिएको १६ कार्टुन स्यानिटाइजरसहित प्रहरीले इन्द्रचोकको सुरज आर्केडबाट रुपेश रौनियारलाई पक्रेको थियो ।
महाशाखाको टोलीले काठमाडौंको बिभिन्न स्थानबाट रौनियारबाहेक पुरुषोत्तम अधिकारी र मिना घिमिरेलाई पनि पक्रेको थियो । उनीहरुको साथबाट ११ हजार ४५५ थान मास्क र १५०५ बोतल सेनिटाईजर बरामद गरिएको थियो । उनीहरुलाई कालोबजारी तथा अन्य केही सामाजिक अपराध कसूरमा कारवाही गरिने प्रहरीले जनाएको छ ।