लण्डन – गैर आवासीय नेपाली संघ यूकेका निवर्तमान उपाध्यक्ष शेर सुनारले सबै गैर आवासीय नेपालीहरुलाई विश्वव्यापी कोरोना संक्रमणको यो घडीमा एक आपसमा सहयोगको हात बढाउन आह्वान गरेका छन् । नेपाल संसारसंग कुरा गर्दै सुनारले बेलायतमा भूपू गोर्खा वृद्धवृद्धाहरु उच्च जोखिममा रहेको र भाषाको समस्या पनि भोगी रहको जनाए ।
अत्यावश्यक सामग्रीहरुको अभाव भएको समाचारहरु आइरहेको र यस्तो बेला आफ्ना छरछिमेकीहरुको हालखबर बुझ्नु, बालबालिका र वृद्धवृद्धालाई सक्दो सहयोग र सुझाव सल्लाह दिनु हामी सबैको कर्तव्य भएको बताए। “यो पुण्यकर्म पनि हो,” सुनार भन्छन । उनले सबै मुलुकहरुमा रहेका एनआरएन मित्रहरु तथा नेपाली संघसंस्थाहरुलाई आपत्कालीन टोली, हटलाइन आदि स्थापना गरी तत्काल सक्रिय रहन अनुरोध पनि गरेका छन् ।
सुनारले नेपाल सरकारले गत साता जारी गरेको सूचनामा ‘एक साता अगाडी स्वास्थ्य परीक्षण गरेको प्रमाणपत्र त्रिभुवन विमानस्थलमा पेश गर्नु पर्ने’ प्रावधान अव्यावहारिक रहेको बताउंदै सो निर्णयबारे तत्काल पुनर्विचार गर्न आग्रह पनि गरेका छन् ।